विद्युत संकट समाधानका लागि तीन संघठनको सुझाब, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

विद्युत संकट समाधानका लागि तीन संघठनको सुझाब, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी



काठमाडौं । विगत केहि दिन देखि पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी विद्युत आपूर्ति अवरोध हुदै आएकोमा भएकोमा ३ संघठनले ध्यानाकर्षण भएको जनाएको छ । गत दुई दिन देखि २४ सै घण्टा विद्युत आपूर्ति ठप्प भएकोप्रति मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ को गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

उद्योग संचालनमा अक्सीजनको भूमिका निर्वाह गर्ने विद्यूतको निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठा मै प्रश्न चिन्ह लाग्ने गरी कुनैपनि तालिका सार्वजनिक नगरी पटक पटक आपूर्ति वन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएको छ । यस्तो अवस्था रही रहेमा अति आवश्यक वस्तु लगायत सम्पूर्ण उत्पादन प्रकृयानै ठप्प भई आपूर्ति श्रृखंला अबरोध हुने तर्फ समेत सम्बन्धी निकायलाई सचेत गराउँदै हाल उत्पन्न समस्याको तत्काल समाधान गर्न बुझाव समेत पेश गरेको छ

१. लोडसेडिङ्गको तालिका सार्वजनिक गर्नुपर्नेः
विना पूर्व सूचना विद्युत लाईन अवरुद्ध हुँदा उत्पादन प्रकृयामा अवरोध हुने, कच्चापदार्थ, मिल मेशिनरीमा क्षति तथा श्रमिकको कार्य व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएकोले विद्युत आपूर्तिको अवस्थालाई यथार्थ प्रस्तुत गरी लोडसेडिङ्गको तालिका अविलम्ब सार्वजनिक गरी उद्योग सञ्चालन प्रकृयामा सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

२. स्वदेशी विद्युत उत्पादन क्षमताको अधिकतम उपयोग गर्नु पर्नेः
नेपालका विद्युत उत्पादक कम्पनीहरुले नेपाल विद्युत प्राधिकरणसंग सम्झौता गरेको परिमाणभन्दा बढि विद्युत उत्पादन गर्न सक्ने अवस्थामा थप विद्युत उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनलाई अधिकतम् उपयोग गरी वर्तमान संकटको समाधान गर्नु पर्ने कुरामा जोड दिएको छ ।

३. विद्युतको न्यायोचित वितरण गर्नु पर्नेः
वर्तमान ड्राई सिजनमा रन अफ रिभरमा आधारित विद्युत गृहबाट जडित क्षमताभन्दा कम विद्युत उत्पादन हुनुका साथै भारतबाट समेत आशातित रुपमा विद्युत उपलब्ध नभई रहेको वर्तमान अवस्थालाई मध्यनजर गरी विद्युत आपूर्ति नियमित नहुञ्जेल विद्युत आपूर्तिको समस्या राष्ट्रिय समस्याको रुपमा लिई भएकोले औद्योगिक क्षेत्रमा मात्रै विद्युत अवरुद्ध नगरी पिक आवरमा उद्योग एवं ग्राहस्थ सबै क्षेत्रमा समानुपातिक र न्यायोचित वितरण गर्नु पर्ने भनिएको छ ।

४. विद्युतको डिमान्ड शुल्क सम्बन्धमाः
विद्युत आपूर्ति बन्द भई कलकारखाना नै ठप्प भएको समयमा विद्युत डिमाण्ड शुल्क लगाउनु उपयुक्त नभएकोले उक्त समयको डिमान्ड शुल्क खारेज गरिनु पर्ने ।

५. कुटनैतिक पहलबाट समाधान खोज्नु पर्नेः
नेपाल सरकारले विद्युत आपूर्ति अवरोध हुँदा औद्योगिक क्षेत्रमा पुगेको क्षतिलाई मध्यनजर गरि कुटनीतिक पहल गरि यथाशक्य आपूर्ति नियमित गराउन पहल गर्नु पर्ने र सो संकटको समाधान खोज्नु पर्ने ।

गत २ वर्ष देखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा वढदो व्याजदरले मरणासन्न पुयाएको अवस्थामा बिना पूर्वसूचना विद्युतमा भएको यस प्रकारको अवरोधले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । यो अवस्थामा सम्वन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न वाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्था तर्फ गम्भीर हुन सम्वन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गर्दै आगामी मंगलबारसम्म मागहरुको उचित सम्बोधन भएन भने चरणबद्ध आन्दोलन गर्न चेतनावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्