सुदूरपश्चिममा कुल गार्हस्थ्य उत्पादन ३ खर्ब ३९ अर्ब रुपैयाँ पुग्ने अनुमान « Arthapath.com
७ मंसिर २०७९, बुधबार

सुदूरपश्चिममा कुल गार्हस्थ्य उत्पादन ३ खर्ब ३९ अर्ब रुपैयाँ पुग्ने अनुमान



काठमाडौं । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३ खर्ब ३९ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३ खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान ३ खर्ब १ अर्ब रहेको छ ।

गत आर्थिक वर्षमा राष्ट्रिय गार्हस्थ्य उत्पादनमा यस प्रदेशले ७ प्रतिशत हिस्सा ओगटेको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा पनि यस प्रदेशको योगदान ७ प्रतिशत नै हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.२ प्रतिशत थियो भने आर्थिक वर्ष २०७८÷७९ मा ४.९ प्रतिशत हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ५१.८४ प्रतिशत सेवा क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान १४.६१ प्रतिशत उद्योग क्षेत्रको रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागद्वारा जारी आर्थिक वर्ष २०७८÷७९ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा सबै देशकोकुल गार्हस्थ्य उत्पादनको वृद्धिदर गत आर्थिक वर्षको आर्थिक वृद्धिदरभन्दा बढ्ने अनुमान गरिएको छ ।

(क) कुल गार्हस्थ्य उत्पादनः
आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु.४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएकोमा ३६.९ प्रतिशत योगदान सहित सबैभन्दा बढी बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु. १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ भने सबैभन्दा कम हिस्सा ४.१ प्रतिशतको योगदान सहित कर्णाली प्रदेशको करिव रु.१ खर्ब ९८ अर्ब हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षजस्तै आर्थिक वर्ष २०७८÷७९ मा पनि बागमती प्रदेश पछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशहरुमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन्। सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. ३ खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ ।

(ख) आर्थिक वृद्धिः
आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (उपभोक्ता मूल्यमा) ५.८ प्रतिशत अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र मधेश प्रदेशको वृद्धिदर सबैभन्दा कम ४.८ प्रतिशत रहने अनुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेशको वृद्धिदर ४.९ रहने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा बागमती प्रदेशको वृद्धिदर सबै भन्दा बढी ४.६ प्रतिशत तथा गण्डकी प्रदेशमा सबैभन्दा कम वृद्धिदर ३.७ प्रतिशत रहेको थियो भने कर्णाली प्रदेशको वृद्धिदर ४.३ र सुदूरपश्चिम प्रदेशको वृद्धिदर ४.२ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्