भदौमा २ अर्ब ४२ करोड विद्युत भारत निर्यात « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

भदौमा २ अर्ब ४२ करोड विद्युत भारत निर्यात



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले केही दिनअघि ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

चालु आर्थिक वर्ष (आव) २०७९÷८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठ बाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।


प्रतिक्रिया दिनुहोस्