नयाँ बजेटले बढाएन कर्मचारीको तलब: वृद्ध भत्ता पनि यथावत, कसले कति पाउँछन् ?

काठमाडौं । सरकारले कर्मचारीको तलब यथावत राखेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कर्मचारी तलब वृद्धिको विषय उल्लेख गरेनन् । तर, कर्मचारीहरुले पनि तलब वृद्धिको अपेक्षा गरेका थिए ।
यद्यपि, सङ्घीय निजामती सेवा कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन गरिने उनले जानकारी गराए । राष्ट्रसेवक कर्मचारीको मनोवल बढाउन, काममा उत्प्रेरित गराउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिने अर्थमन्त्री पुनले जानकारी गराए ।
हाल मुख्य सचिवको तलब ७७ हजार २११ रुपैयाँ, सचिवको ७२ हजार ८२ रुपैयाँ छ । यस्तै, सहसचिवले ५६ हजार ७८७ रुपैयाँ र उपसचिवले ४८ हजार ७३७ रुपैयाँ मासिक रुपमा तलब बुझ्दै आएका छन् । यता, शाखा अधिकृतले ४३ हजार ६८९ रुपैयाँ, नायव सुव्वाले ३४ हजार ७३० रुपैयाँ र खरदारले मासिक ३२ हजार ९०२ रुपैयाँ आएका छन् । तर, आगामी आर्थिक वर्षमा पनि कर्मचारीहरुको यथावत राखिएको हो ।
सामाजिक सुरक्षा भत्ता पनि बढेन
यस्तै, सरकारले सामाजिक सुरक्षा भत्तालाई पनि यथावत राखेको छ । उनले भने,‘ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छु। यसको लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरेको छु।’
हाल सरकारले जेष्ठ नागरिक, दलित, एकल महिला, विधवा, पूर्ण अपाङ्गता, बालबालिका र लोपोन्मुख जाति लगायतलाई सामाजिक सुरक्षा प्रदान गर्दै आएको छ ।
चालु आवमा सरकारले जेष्ठ नागरिक (६८ वर्ष) लाई मासिक ४ हजार रुपैयाँ, दलित ( ६० वर्ष) २ हजार ६६० रुपैयाँ दिँदै आएको छ । यस्तै, ६० वर्ष नाघेका एकल महिलालाई मासिक २ हजार ६६० रुपैयाँ, विधवालाई २ हजार ६६० रुपैयाँ, पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ३ हजार ९९० रुपैयाँ, अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई २ हजार १२८ रुपैयाँ मासिक रुपमा दिँदै आएको छ ।
यता, ५ वर्षसम्मका बालबालिकालाई पनि मासिक ५३२ रुपैयाँ र लोपोन्मुख जातिलाई पनि ३ हजार ९९० रुपैयाँ भत्ता दिँदै आएको छ ।