४७ करोडको संरचना, नियमित उत्पादनको प्रतिक्षमा « Arthapath.com
९ माघ २०८०, मंगलवार

४७ करोडको संरचना, नियमित उत्पादनको प्रतिक्षमा



सरिता दाहाल

मकवानपुर । ४७ करोड बजेटमा निर्माण गरिएको संरचना उत्पादनको कार्यविधि र मोडेल तयार नहुदा नियमित उत्पादनमा लैजान सकिएको छैन ।

३ वर्ष अघि अनुमानित बजेट ४५ करोड १२ लाख ७० हजार तय गरिएको तर ४१ करोड २२ लाख ७१ हजारमा सक्ने गरी सम्झौता भएको बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारले निर्माण गर्न लागेको पाउडर दुध उत्पादन प्लान्टले नियमित उत्पादन गर्न नसकेको हो ।

व्यवसायिक रुपमा पशुपालन गर्न युवा किसानलाई प्रेरित गर्न दाना उत्पादन गर्ने र उत्पादिन दुधको सहज खपत नभएमा पाउडर बनाएर बजारमा ल्याउने लक्ष्यका साथ बागमती प्रदेश सरकारले यो प्लान्ट निर्माण सुरु गरेको थियो । तर अहिले पाउडर प्लान्ट निर्माण पुरा भए पनि प्राविधिक प्रक्रिया नमिल्दा उद्योगले उत्पादन सुरु गर्न सकेको छैन ।

उत्पादित दुध सहज खपत नभएपछि किसान समस्या भोग्दै आएका आएका छन् । यता तोकिएको अवधिभन्दा ३ वर्षबढी समय गुजारेर निर्माण पुरा भएको पाउडर प्लान्टले उत्पादन थाल्न पाएको छैन । निर्माण पुरा भएसँगै दुध खपतमा सहज हुने अपेक्षा बोकेका युवा किसानहरु अलमलमा परेका छन् । जुन प्लान्ट निर्माण कार्यको थालनी ३ वर्ष अघि सुरु गरिएको थियो । प्लान्ट निमार्ण कार्य एक महिना अघिमात्रै सकियो । परीक्षण उत्पादन पनि गरियो तर नियमति उत्पादन तर्फ प्रक्रिया नै सुरु गर्न सकिएको छैन ।

किसानहरूले भोग्नुपर्ने मिल्क होलिडेको समस्या समाधान गर्ने मुख्य उद्देश्य रहेको यो प्लान्ट अलपत्र परेपछि युवा उद्यमीहरुमा झनै निराशा बढेको छ । राज्यकोष लगानीमा कारखानाको संरचना निर्माण भए पनि उत्पादन कार्यले सफलता नपाए पछि लगानीमाथि नै प्रश्न उठ्न थालेको छ । प्रदेशको सबैजसो जिल्लाका किसानहरु ऋहिले महिनादिनयता अघोषित रुपमा साप्ताहिक मिल्क होलिडे खेपिरहेका छन् ।

यसको मुख्य कारण हो कारखाना सञ्चालनमा ल्याउन कार्यविधिको अभाव । कार्यविधि नभएकै कारण राज्यकोषको झण्डै आधा अबर लगानी खेर जाने अवस्था आएको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा निर्माण सुरु भएको पाउडर प्लान्ट केही साताअघि मात्रै तयार भएको छ। प्रदेशका किसानहरूको व्यग्र प्रतिक्षामा रहेको कारखाना निर्माण सम्पन्न भए पनि कारखाना सञ्चालनमा ल्याउन कार्यविधि नै छैन । कार्यविधि नबन्दा यस्तो समस्या आएको प्रदेश दूग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लव सापकोटा बताए ।

मन्त्रालयले आवश्यक कार्यविधि निर्माण गरेपछि कुनै संस्थालाई जिम्मा दिएर धुलो दूध कारखाना सञ्चालनमा ल्याइने उनले बताए । उनका अनुसार हेटौंडा दुध विकास संस्थानलाई केही बर्षको लागि ठेक्कामा लगाइने आन्तरीक तयारी भएको छ। जसका लागि आवश्यक कार्यविधि निर्माणकै चरणमा रहेकोले यसको टुड्डो लाग्न पाएको छैन ।

यता मन्त्रालयले कार्यविधिको अड्चन रहेको तर यो भन्दा विशेष कुरा कुन मोडलमा उद्योग सञ्चालन गर्न भन्ने कुरा नै टुड्डो नलागेको कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारी बताउँछन् । “उद्योगको परीक्षण उत्पादन पनि केही समय रहोस् भनेर हामीले ढीलाई गरेका हौं” उनले भने “यत्तिको बजेटबाट निर्माण गरिएको उद्योग निर्माण कम्पनीले जिम्मा दिएपछि समस्या आउनु भन्दा अलि लामै समय परीक्षण उत्पादन होस् भन्ने मन्त्रालयको ध्यय हो ।” उद्योग सञ्चालनको जिम्मेवारी डिडिसीलाई दिने वा दुग्ध विकास बोर्डले आफैं चलाउने वा कुनै तेस्रो पक्षलाई दिने, के कसरी सञ्चालन गर्ने भन्नेबारे मार्डासलटीकै टुड्डो नलागेको अधिकारीले बताए ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको उक्त पाउडर प्लान्ट एक वर्षभित्रै पूरा गर्ने सर्तमा इजी इन्फ्रा कम्पनीले ठेक्का लिएको थियो। तर कोरोना महामारी, लकडाउनजस्ता कारण देखाउँदै तेस्रो पटक म्याद थपेको कम्पनीले केही एक महिनाअघि मात्रै निर्माण सक्यो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ पौष १६ गते उक्त पाउडर प्लान्टको शिलान्यास गरेका थिए ।

प्रदेश सरकारले एक वर्षभित्र काम सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने सहमतिमा योजना निर्माणको जिम्मेवारी इजी इन्फ्रा कम्पनीलाई दिएको थियो । ठेक्का सम्झौता गरे पनि ठेक्का सम्झौतापछि कोरोना माहामारीले काममा बाधा पु¥याएको भन्दै तीन पटकसम्म म्याद थप्दै काम गरेको थियो। बागमती प्रदेश दुग्ध विकास बोर्डले उत्पादित दूध बिक्री नभएर खेर जाने तथा दूध बिक्रीका लागि किसानले भोगिरहेका समस्या समाधान गर्ने उद्देश्यले हेटौँडा–१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण अघि बढाएको थियो।

उक्त प्लान्ट प्रदेश सरकारले बागमती मात्र नभएर गण्डकी, लुम्बिनी र मधेश प्रदेशलाई समेत लक्ष्य गरी निर्माण गरिएको हो। उक्त पाउडर प्लाट खुलेपछि किसानहरुले मिल्क होलिडेको चिन्ता हट्ने प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटाको दाबी छ।

दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक ५ मेट्रिकटन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ। सो प्लान्टबाट बागमती प्रदेशसहित मधेश प्रदेशको बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने बोर्डको अनुमान छ।पाउडर प्लान्टमा बागमतीका १३ जिल्ला सहित महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट समेत दूध आयात गर्ने लक्ष्य राखिएको छ। उत्पादन कार्यको थालिका भएपनि यहाँ करिब ८० जनाले रोजगारी पाउनेछन् ।

यस्तो छ इतिहास

किसानद्धारा उत्पादित दुधको खतप हुन नसकेपछि हुने गरेको “मिल्क होलिडे” हटाउने एकमात्रै विकल्पको रुपमा स्थापना गर्न लागिएको पाउडर दुध उत्पादन प्लान्टको निर्माण कार्य २०७७ फागुन देखि असोजसम्म ७ महिना रोकिएको थियो ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका–१०, न्युरेनीमा निर्माण गर्न लागिएको दुग्ध पाउडर प्लान्ट निर्माणको कार्य ७ महिनासम्म रोकिएपछि प्रदेशको कृषि मन्त्रालयका तत्कालिन मन्त्री चन्द लामाल र सचिव डाक्टर शरणकुमार पाण्डेको विशेष सक्रियतामा कामले गति लिएको थियो ।

संघीय सरकारको निर्णयानुसार डीडीसीले चलाइरहेको पशुदाना कारखानाभित्र प्लान्ट स्थापना गरिएको हो। डीडीसीले लिएको ८ बिगाहामध्ये २ बिघा जमिनमा प्लान्ट स्थापना गर्ने गरी बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौंडा उपमहानगरपालिका–१०, न्युरेनीमा पाउडर प्लान्ट र सोका लागि भवन निर्माण थालेको थियो ।

संघीय कृषि मन्त्रालयमातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागि भाडामा लिएको छ । जसको १० वर्ष गुज्रेको छ । त्यसमध्ये २ बिघा बोर्डले लिने निर्णय भए अनुसार निर्माणको काम भइरहेको हो । प्लान्ट स्थापनाका लागि पशुपक्षी तथा मत्स्य विकास केन्द्र हेटौडाले डीपीआर गरेको थियो ।

उद्योगबाट पाउडर दूधसंगै घिउ पनि उत्पादन गरिनेछ । उत्पादित धुलो दूध प्याकिङ दैनिक ५ मेट्रिकटन सात वटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहजढंगबाट वितरण गर्ने कार्यतालिकासहित यातायातको सुविधा उपलब्ध गराइने छ ।

प्लान्टबाट प्रदेश–२ का बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक ५ मेट्रिकटन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको छ ।

पाउडर प्लान्टका लागि महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गरिनेछ । तर बागमती प्रदेशका जिल्लामा उत्पादन भएको दुधलाई पहिलो प्राथमिकता दिइने छ ।

हेटौंडास्थित पशुआहार उत्पादन विकास समितिले भोगचलन गरेका सम्पूर्ण चलअचल सम्पत्ति, स्रेस्ता एवम् कागजात दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । करिब एक दशकदेखि घाटामा सञ्चालन हुँदै आएका कारण मन्त्रिपरिषद् निर्णयअनुसार समिति बिघटन गरी २५ वर्षका लागि संस्थानलाई हस्तान्तरण गरिएको हो ।

वार्षिक कम्तिमा ६१ लाख रुपियाँ नोक्सानी बेहोर्दै आएको उद्योगलाई २०६१ सालदेखि विकास समितिमा परिणत गरिएको थियो । उद्योगमा १९ जना स्थायी, सात जना दैनिक ज्यालादारीमा र एकजना अस्थायीरुपमा कार्यरत् कर्मचारीहरु थिए । २०२२ सालमा सरकारले पहिलो पटक क्याटल फिड प्लान्टका नाममा उद्योग सुरु गरेको थियो । प्रतिघण्टा दुई मेट्रिक टन दाना उत्पादन गर्ने उद्योगबाट पछिल्लो समय दैनिक सात मेट्रिक टनमात्र उत्पादन हुने गरेको थियो ।

उत्पादनका मेसिन निकै पुरानो भएको र उधारो उठ्न नसकेपछि सरकारले समिति बिघटन गरेको थियो । यस उद्योगले उत्पादन गरेको पशुआहार छिमेकी जिल्ला बारा, पर्सा, चितवनसहित इलाम, बनेपा र काठमाडौंसम्म लोकप्रिय थियो ।

२७ असार २०७० मा मन्त्रिपरिषद् बैठकले समिति बिघटन गरी २५ बर्षका लागि उद्योग संस्थानलाई हस्तान्तरण गरिने निर्णयपछि ८ साउन २०७० बाट आधिकारीक रुपमा हेटौंडा दुग्ध वितरण आयोजनालाई उद्योग हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्