लन्डनमा नेपाली गहना पसल, अनलाइन मार्फत विश्वभरि डेलिभरीको व्यवस्था « Arthapath.com
८ माघ २०८१, मंगलवार

लन्डनमा नेपाली गहना पसल, अनलाइन मार्फत विश्वभरि डेलिभरीको व्यवस्था



काठमाडौं । बेलायतमा नेपालीहरूको सबैभन्दा सघन बसोबास भएको सहर अल्डरशटमा सुम्निमा ज्वैलरी एन्ड कलेक्सन नामको सुनचाँदीको नयाँ शोरुम खुलेको छ । 

पछिल्लो समय बेलायतमा स्थायी रूपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसँग मिलेर उक्त व्यवसाय सुरु गरेका हुन् ।

बेलायत स्थित अल्डरशटमा हिजो नेपालिज ज्वैलरी एसोसिएसनका अध्यक्ष तथा आदिवासी जनजाति महासङ्घका पनि अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउन्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाट्यकर्मी सिर्जना सुब्बाले संयुक्त रूपमा उद्घाटन गरेका छन् । 

लन्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरूका लागि ब्यपारिक केन्द्रको रूपमा समेत विकास हुँदै गइरहेको छ । नेपालीहरूले दर्जनौँ रेष्टुरेण्टदेखि किराना पसलहरू खोलेका छन् । यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरू सञ्चालनमा रहेका छन् ।

नेपालीहरू पहिल्यैदेखि  सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रूपमा समेत नेपालीहरूले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरू आकर्षित भएको गायक श्यामले बताए ।

सुम्निमा ज्वैलरी एन्ड कलेकशनमा सुनचाँदीका अलावा विभिन्न जातजातिका पोसाकदेखि हस्तकलाका सामाग्रीहरू समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन ।

‘’हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकलाका साथमा नेपालीहरूको शान खुकुरी, सबै जातजातिका पोसाक, उनीहरूको सांस्कृतिक बाजा लगायत विभिन्न शोभानिरका सामाग्रीहरू सुफत मूल्यमा बेच्न राखेका छौ । यहाँ पसलमा आएर तपाईँहरूले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइन मार्फत विश्वभरि डेलिभरीको व्यवस्था समेत गरेका छौ’’ जानुकाले थपिन् । गायिका जानुका राई मुन्दुमी गायिकाको रूपमा चर्चित छन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पार्श्व गायन गरी गरिसकेका छन् ।

गायक श्यामले भने “आफूहरू नेपालमा पनि व्यवसायको थोरबहुत अनुभव लिएर आएको हुँदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन  । अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रामक व्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ ।” गायक  श्यामका मुर्चुङ्गामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायतका गीतहरू लोकप्रिय छन् । पछिल्लो समय मुन्दुम ट्रेलका प्रबद्र्धकका रूपमा समेत चर्चा कमाएका उनले.‘मुन्दुम ट्रेल’ नामक संस्मरणात्मक पुस्तक गत वर्ष सार्वजनिक भएको थियो ।


प्रतिक्रिया दिनुहोस्