एचआईडिसिएलले कमायो ७५ करोड नाफा, इपिएस पनि सुधार

काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले नाफा दोहोरो अङ्कले बढाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नाफा ११.४७ प्रतिशत बढाएको हो ।
सोमबार कम्पनीले प्रकाशित त्रैमासिक विवरणअनुसार ७५ करोड २७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको पुस मसान्तसम्ममा भने कम्पनीले ६७ करोड ५२ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको आम्दानीमा देखिएको बढोत्तरीले नै खुद नाफा वृद्धिमा टेवा पुगेको छ । आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ४३ लाख ८५ हजार रुपैयाँ मात्रै थियो । तर, यो वर्षको सोही अवधिमा भने १८१.६२ प्रतिशत बढेर १ करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी पनि ४.६२ प्रतिशत बढेर १ अर्ब ७ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अन्य आम्दानी बढे पनि कम्पनीको लाभांश बापत हुने आम्दानीमा भने गिरावट देखिएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १९.३७ प्रतिशत घटेर १ करोड ७ लाख ७३ हजार रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब ८९ करोड ७ लाख ६० हजार रुपैयाँ राखेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि वृद्धि भई ६ रुपैयाँ ६१ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ३० पैसा कायम भएको छ ।