छिमेकी मुलुकबाट ९ हजार मेगावाट विद्युत लैजान बंगलादेश इच्छुक, नेपालतर्फको काम अन्तिम चरणमा « Arthapath.com
२२ फाल्गुन २०८०, मंगलवार

छिमेकी मुलुकबाट ९ हजार मेगावाट विद्युत लैजान बंगलादेश इच्छुक, नेपालतर्फको काम अन्तिम चरणमा



काठमाडौं । बंगलादेशले छिमेकी मुलुकबाट ठुलो परिमाणमा बिजुली खरिद गर्ने भएको छ । आन्तरिक माग धान्नका लागि बंगलदेशले छिमेकी मुलुकहरुबाट ९ हजार मेगावाट विद्युत किन्ने प्रक्रिया अघि बढाएको हो ।

बंगलादेशका ऊर्जा तथा खनिज स्रोत राज्य मन्त्री नसरुल हमिदले ९ हजार मेगावाट विद्युत खरिद किन्ने प्रक्रिया अघि बढाउने बताएका हुन् । बंगलादेश र भारतले उर्जा क्षेत्रको विकासका लागि मिलेर काम गर्ने ठुलो अवसर रहेको बताए ।

उनले आगामी महिनामा नेपालबाट ४० मेगावाट विद्युत ल्याउन सम्झौता हुने जानकारी गराए । बंगलादेशस्थित भारतीय उच्च आयोगका प्रणय बर्मासँगको भेटमा नसरुलले यस्तो बताएको बंगलादेशी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

उनले भने, ‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट विद्युत खरिद गर्न चाहान्छौं , नेपाल र भुटानबाट विद्युत आयात गर्ने प्रक्रियामा अन्तिम चरणमा छ । आगामी महिना नेपालबाट ४० मेगावाट विद्युत ल्याउन सम्झौता गर्दैछौं ।’ उनले भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट विद्युत् आयात गर्ने काम लगभग अन्तिम चरणमा पुगेको बताए । नवीकरणीय ऊर्जा आयातको काम पनि भइरहेको उनले जानकारी गराए ।

बंगलादेशले भारतको मेघालय, त्रिपुरा वा आसामको प्रसारण लाइन प्रयोग गरे विद्युत आयात गर्ने विषयमा छलफल गरिरहेको छ । उनले एच–इनर्जीमार्फत एलएनजी र ग्यास आयात गर्ने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको बताए । ‘हामी भारतलगायत छिमेकी मुलुकसँग सहकार्य अघि बढाउन चाहन्छौं। यसका लागि हामीलाई भारतीय सहयोग चाहिन्छ’,उनले भने ।

नसरुल हमिदले नेपालदेखि बंगलादेशसम्म डेडिकेटेड लाइन भए विद्युत व्यापारले गति लिने बताए । यसले भारतलाई पनि फाइदा पुग्ने उनको भनाई छ । उनले सहयोगको क्षेत्र बढाउन प्रत्येक महिना दुवै पक्षको सरोकारवालाको बैठक बस्न जरुरी रहेको बताए ।

उच्च आयुक्तले बंगलादेशसँग ऊर्जा र ऊर्जा क्षेत्रमा भारतको सहयोग बढ्दै गएको बताए । नेपालबाट बंगलादेशमा जलविद्युत आयात भइरहेको छ, भारतले पनि नेपालबाट करिब ६०० मेगावाट विद्युत आयात गरिरहेको उनले बताए । बैठकमा उच्च क्षमताका प्रसारण लाइन, नवीकरणीय ऊर्जा, विद्युत् आयात–निर्यात, आर–एलएनजी, इन्धन क्षमता अभिवृद्धि, ऊर्जा दक्षता र भावी क्षेत्रीय जडानका विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्