मुस्ताङको साङ्तामा सोलारबाट बिजुली « Arthapath.com
३० भाद्र २०८१, आईतवार

मुस्ताङको साङ्तामा सोलारबाट बिजुली



काठमाडौं । तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ।

साङ्तामा ४४ लाख बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सोलार जडान गरेर विद्युतीकरण गरेको हो। जसबाट साङ्ताका १३ घर लाभान्वित भएका छन्।

सोलार जडान भएसँगै विद्युत नहुँदा सास्ती खेपिरहेका साङ्ताबासीको जनजीवन सहज भएको छ। मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, ल्यापटप चलाउन सहज भएको छ।

साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा पुगेको छैन। सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गर्छन् । स्थानीय सरकारले नेपाल टेलिकमसँग समन्वय गरेर साङ्तामा मोबाइल फोन सेवा विस्तारको तयारी गरिरहेको छ।

दस वर्षअघि सडक सुविधा पुगेको साङ्तामा हालै एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण गरिएको छ। कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ। साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ।


प्रतिक्रिया दिनुहोस्