कसले चोर्यो अपर तामाकोशी हाइड्रोपावरको करोडौं मूल्यका सामान ?
काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् । गत असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी यूनियनले जनाएको छ ।
युनियनले सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्वपूर्ण सामग्रीहरू शंकास्पद र रहस्यमयी ढङ्गबाट चोरी भएको जनाउँदै आवश्यक छानविन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोध समेत गरेको छ । तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौं करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको युनियनले जनाएको छ ।
खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको जनाइएको छ । जसको मूल्य करोडौं मूल्य पर्छ ।
असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मतसम्भार भइरहेको छ । क्षतिग्रस्त स्थानको सरसफाई र कम क्षतिको सेटलिन बेसिनको मर्मत कार्य ‘डे वर्क्स’मा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित रोल्वालिङ खोला जलविद्युत् आयोजनाका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीबाट भइरहेको छ ।