२ महिनामा २ अर्ब २९ करोडको चिनी आयात, ४० प्रतिशत भन्सार तिर्दै « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

२ महिनामा २ अर्ब २९ करोडको चिनी आयात, ४० प्रतिशत भन्सार तिर्दै



काठमाडौं । नेपालमा २ महिनाको अवधिमा २ अर्ब २९ करोडको चिनी आयात भएको छ । चालु आर्थिक बर्षको २ महिनामा भारतबाट २ अर्ब २९ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको करिब ४ करोड ६८ लाख ९६ हजार १ सय २६ केजी चिनी आयात भएको छ । त्यस्तै आयातकर्ताले १ अर्ब ३१ करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व तिरेका छन् । २ महिनाको आयातमा पेट्रोल, डिजल र सवारीपछि सबैभन्दा धेरै राजस्व चिनीबाट संकलन भएको हो । व्यवसायीले ४० प्रतिशत भन्सार तिरेर चिनी आयात गरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङ कर्पाेरेशनलाई २० हजार टन गरी ३० हजार टन चिनी आयातको अनुमति दिएको थियो ।

निजी क्षेत्रका आयातकर्ताका अनुसार भारतका कारखानामा हाल चिनीको मूल्य प्रतिकिलो भारु २६ रुपैयाँ ५० पैसा रहेको छ । नेपालमा सरकारले चिनीको भन्सार मूल्यांकन भारु ३० रुपैयाँ र भन्सार महसुल ४० प्रतिशत तोकेको छ । भारू ३० रूपैयाँ भन्सार र ४० प्रतिशत महसुल बुझाएर चिनी आयात गर्दा प्रतिकिलो ८० रुपैयाँमा नेपालका गोदामसम्म आइपुग्छ । नेपालका उद्योगहरूले चिनीको मूल्य प्रतिकिलो ८१ रुपैयाँ ५० पैसा बनाइसकेका थिए ।

नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार टन हाराहारी हुने गरेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिएका छन् ।

हाल बजारमा उपभोक्ताले प्रतिकेजी ८५ रुपैयाँदेखि ९० रुपैयाँमा चिनी पाईन्छ । दसैं–तिहारको अवधिमा बजारमा माग नियमित परिमाणभन्दा थप २५ हजार टनले बढ्ने अनुमान व्यवसायीको छ ।


प्रतिक्रिया दिनुहोस्