परिसंघका पदाधिकारी र अर्थमन्त्रीबीच भेट, पौष मसान्तसम्म वित्तीय विवरण नबुझाउनेलाई जरिवाना नगर्न परिसंघको अनुरोध « Arthapath.com
२९ पुष २०७७, बुधबार

परिसंघका पदाधिकारी र अर्थमन्त्रीबीच भेट, पौष मसान्तसम्म वित्तीय विवरण नबुझाउनेलाई जरिवाना नगर्न परिसंघको अनुरोध



काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भेट गरी उद्योगी व्यवसायिहरुका समस्याहरु समाधान गर्न अनुरोध गरेका छन् ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक वर्ष २०७६÷७७ को आय–व्यय विवरण बुझाउनको लागि आगामी चैत्र मसान्तसम्म समयावधि थप गर्न माग गरेका छन् । अन्तिम समयमा पनि परिसंघमा आबद्ध उद्योगी व्यवसायीहरुले समय थपको माग गरिरहेकोले सरकारबाट उद्योगी व्यवसायीहरुको मागलाई मध्यनजर गरी पौष मसान्तसम्म आय–व्यय विवरण नबुझाउनेलाई जरिवाना नगर्न अनुरोध गरेका छन् ।

चालू आर्थिक वर्षको बजेटमा घोषणा भएको लकडाउन अवधिभरीको विद्युतको डिमाण्ड शूल्क मिनाहा हुने र अन्य समयको लागि बिजुलीको माग कम हुने समयको डिमाण्ड शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था तत्काल कार्यान्वयनमा लगिनु पर्ने माग परिसंघले पुनः दोहो¥याएको छ । पुनरकर्जा कार्यविधिमा एक ऋणीलाई अधिकतम रु. २० करोडको सीमा तोकिएकोले ठूला उद्योगी तथा व्यवसायीलाई २० करोडको पुनरकर्जाले खासै राहत नमिल्ने भएकोले यसको सीमालाई बढाइनु पर्ने माग गरेको छ ।

बजेटमा घोषणा भए अनुरुप विमानहरु अवतरण गर्ने, पार्किङ तथा होल्डिङ गर्ने शुल्क घटाई अत्यन्त मर्कामा परेको यस उद्योगलाई राहत दिइनु पर्ने माग गरेको छ । हाल केही शुल्क मात्र छुट गरेकोले कोभिडको मारमा परेको हवाई उड्ययन क्षेत्रमा लाग्ने सम्पूर्ण शुल्क छुट दिनु पर्ने र अन्य देशको तुलनामा हवाई इन्धनको मूल्य नेपालमा महँगो भएकोले यसलाई घटाउनु पर्ने परिसंघले माग गरेको छ ।

उद्योग एवं निर्माण क्षेत्रमा इन्धनको रुपमा प्रयोग हुँदै आएको डिजेलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर फिर्ता दिनु पर्ने, राजस्व न्यायाधिकरण लगायत अन्य अदालतहरुमा विचाराधिन रहेको कर सम्बन्धी मुद्दाहरुमा मुद्दा फिर्ता लिएमा शुल्क र जरिवाना छुट दिने व्यवस्था भए पनि मुद्दा अवधिमा सरकारले वार्षिक १५ प्रतिशत ब्याज लगाउने निर्णय गरेकोले विचाराधिन मुद्दाहरु फिर्ता गर्न उद्योगी व्यवसायीहरुलाई निरुत्साहित गरेको देखिएको छ । त्यसैले ब्याज लगाउने निर्णय फिर्ता लिई शुल्क तथा जरिवाना छुटको व्यवस्था सहित मुद्दा किनारा लगाउने तर्फ सरकारले ध्यान पु¥याउन परिसंघले माग गरेको छ । अर्थ मन्त्रीबाट परिसंघका सुझावहरुलाई सकारात्ममक रुपमा लिई समस्या समाधान गर्न तर्फ पहल गर्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्