मुलुकभर साना तथा मझौला उद्योग विकास गर्न कर्मभूमि र सीबीफीन बीच सम्झौता « Arthapath.com
४ माघ २०७८, मंगलवार

मुलुकभर साना तथा मझौला उद्योग विकास गर्न कर्मभूमि र सीबीफीन बीच सम्झौता



काठमाडौं । मुलुकभर लघु, साना तथा मझौला उद्यम विकास एवम् विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा कर्मभूमि समाजकोतर्फबाट अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरी र सीबीफीनको तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बेरोजगार युवा तथा महिला, आर्थिक जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, वैदेशिक रोजगारबाट फर्केका नेपाली तथा उद्यमशील बन्न चाहनेलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

कर्मभूमि समाजले उद्यमशील बन्न आकांक्षीहरूलाई व्यवसाय दर्ता, सम्भाव्य परियोजना सम्बन्धी सोच प्रदान गर्दै त्यस्ता परियोजनालाई बैंक तथा वित्तीय संस्था मार्फत सहुलियत ऋणका लागि प्रस्ताव तयार गर्न सहयोग गर्नेछ । त्यस्तै सीबीफीनले त्यस्ता योग्य प्रस्तावलाई सहज वित्तीय पहुँचका लागि पहल गर्नेछ ।

साथै, स्थानीयस्तरबाट छनोट हुने यस्ता परियोजना कर्मभूमि समाज र सीबीफीनले स्थानीय गाउापालिका वा नगरपालिकाहरु समेतको सहकार्यरसमन्वयमा कार्यान्वयन गराउने समझदारी पत्रमा उल्लेख छ । कर्मभूमि समाजले स्थानीय तहमा सञ्चालन गरिने उद्यमी प्रशिक्षण तथा सीप विकास तालिमको प्रभावकारिताका लागि प्रशिक्षण सञ्चालन गर्ने र सम्बन्धित उद्यम, व्यवसायका उत्पादनको बजारीकरणका लागि स्थानीय साझेदारसँग सहकार्य तथा मूल्य श्रृंखला विकासका लागि काम गर्ने भएको छ ।

गत वर्षदेखि उद्यमशीलता तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको कर्मभूमि समाजले ३७ ओटा जिल्लाबाट १ हजार ४६ ओटा प्रस्ताव प्राप्त गरेकोमा ११६ ओटा परियोजनाले बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत भई सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् । कर्मभूमिका अध्यक्ष चौधरीले छिट्टै उद्यमशीलता विकास अभियानलाई सबै जिल्लामा विस्तार गर्ने योजना रहेको बताए ।

त्यसैगरी सीबीफीनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले देशभर युवा तथा महिलालाई उत्पादनमूलक, रोजगारमूलक व्यवसायहरुको विकास एवं विस्तारमा सम्झौताले सहयोग पुग्ने बताए ।


प्रतिक्रिया दिनुहोस्