निर्णय नै नभइ यति अर्ब खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रम « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

निर्णय नै नभइ यति अर्ब खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रम



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित स्रोत साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्तिसुरक्षा अमनचैन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभएको छ ।
६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले कोरोना महामारीसँगै मुलुकमा विभिन्न किसिमका अपराधका घटना बढिरहेकाले त्यस्ता घटना हुनै नदिनतर्फ प्रहरी चनाखो हुनुपर्ने बताउनुभयो ।

अपराधका घटनाले भौगोलिक सीमाको पर्खाल तोडिसकेको चर्चा गर्दै, प्रधानमन्त्री ओलीले भन्नुभयो–‘स्रोत साधन सीमित छ, तर पनि प्रहरीले राज्य तथा नागरिकको ज्यूधनको सुरक्षाका लागि प्रहरी हर– प्रहर तैनाथ छ । जुन कार्य आफैंमा प्रशंसनीय छ ।

कतिपय ब्यक्ति तथा समूहबाट संविधान विपरीतका कार्य भइरहेको स्मरण गराउदै उहाँले विधिको शासनमा अतिवादी तथा संविधान विपरीतका क्रियाकलाप नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । महिलामाथि एसिड छ्याप्ने र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न ‘कडा’ कानुन बनाइने जानकारी उहाँले दिनुभयो ।

त्यस्तैं, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले केही हप्ताअघि बुढीगण्डकी आयोजनामा शीर्षनेताले ‘घुस’ लिएको विषयमा दिएको अभिब्यक्तिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले गैरजिम्मेवार र जनमानसमा भ्रम छर्नलाई भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो उहाँले थप्नुभयो । सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको चर्चा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।
गृहमन्त्री रामबहादर थापाले औंलामा गन्न सकिने त्रुटिगत कमजोरी देखाएर सिंगो प्रहरी संगठनको बदनामी गराउने कार्य खेदजनक रहेको भन्दै प्रहरीलाई कानुन प्रदत्त जिम्मेवारी र अधिकार प्रयोगमा कहिल्यै पछाडि नहट्न निर्देशन दिनुभयो ।

‘दोषजति अरुलाई थुपार्ने, प्रहरीप्रति सदैव नकारात्मक भ्रम छर्ने, यस्तो आलोचनात्मक सोचबाट निर्देशित हाम्रो समाजमा प्रहरीले निर्भिक र दृढताका साथ जिम्मेवारी वहन गर्न सक्नुपर्छ’ उहाँले भन्नुभयो–त्रुटिरहित ढंगले कार्यसम्पादन गर्नुहोस ।

कोरोना सङ्क्रमण महामारीका बीचमा पनि प्रहरीले शान्तिसुरक्षा, अपराध नियन्त्रण र सर्वसाधारण नागरिकको सेवामा पु¥याएको योगदान प्रसंशनीय रहेको चर्चा गर्दै विभिन्न समयमा कर्तब्य पालना तथा शान्तिसुरक्षा अमनचयन कायम राख्ने क्रममा ज्यान गुमाउने अमर तथा सहीद प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जलि ब्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोना महामारीका कारण यसको वर्षको प्रहरी दिवस औपचारिकतामा मात्र सीमित गरिएको बताउनुभयो । कार्यक्रममा संगठनका पूर्व तथा वहालवाला सदस्यहरुलाई आमन्त्रण गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय परिसरमा रहेको अमर तथा सहीद प्रहरी स्मारकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक थापाक्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र पूर्वप्रहरी महानिरीक्षकहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्