तापमान बृद्धिले हाम्रा हिमाल र नदीका पानी समुद्रमा थुप्रिने खतरा बढ्यो, संकटमा कृषि र जलविद्युत् « Arthapath.com
२२ असार २०७८, मंगलवार

तापमान बृद्धिले हाम्रा हिमाल र नदीका पानी समुद्रमा थुप्रिने खतरा बढ्यो, संकटमा कृषि र जलविद्युत्



काठमाडौं । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पृथ्वीमा पानीको मात्रा ८ देखि १२ प्रतिशत वृद्धि हुनसक्ने विज्ञहरूले औंल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धिमा अहिलेकै रफ्तार कायम रहे पृथ्वीमा पानीको मात्रा बढ्ने विज्ञले बताएका हुन् ।

‘सन २०५० सम्ममा अहिलेको हिसावले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा ८ देखि १२ प्रतिशत मापनको मात्रामा वृद्धि हुनसक्छ,’ जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले भने । अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए आउँदो तीन दशकमा पृथ्वीको औसत तापक्रम थप १ दशमलव ३ डिग्री सेल्सियसदेखि १ दशमलव ८ डीग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान गरिएको उनले बताए ।

अहिलेसम्म पृथ्वीको औसत तापमान (युरोपेली औद्योगिकीकरणपछि) करिव १ डिग्री सेल्सियस बढिसकेको छ । यस्तै अवस्था कायम रहे यो शताब्दीको अन्त्यसम्म हालको १ प्रतिशतबाट बढेर ३.५ डिग्री सेल्सियससम्म बढ्नसक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।

सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम बृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित राख्ने प्रतिवद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपदका घटना हुनमा जलवायु परिवर्तनको प्रभाव रहेको स्वच्छ उर्जा नेपालमा आवद्ध जलवायु परिवर्तन विज्ञ ढकालले बताए । उनका अनुसार नेपालमा भएका सुख्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन हो ।

नेपालमा पछिल्ला ४५ वर्षमा मापन भएको तापक्रमको तथ्यांकले पनि डरलाग्दो तस्वीर देखाएको छ । यस अवधिमा नेपालका विभिन्न स्थानमा अधिकतम २.५ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको रेकर्ड गरिएको छ । न्यूनतम् तापक्रम भने यति फराकिलो मात्रामा बृद्धि भएको छैन ।

हिमाली क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धि भन्दा उच्च दरमा बढिरहेको छ । ‘यो तापक्रम वृद्धिको प्रभाव हिमनदीमा परेको विभिन्न अध्ययन तथा अनुसन्धानले प्रष्ट पारिसकेको छ,’ ढकालले भने । स्वच्छ उर्जा नेपालसंगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय विपद जोखिम घटाउनमा सरकारका प्रयासहरुले केही हदसम्म मानवीय क्षेति हुनबाट जोगाउन सकिएको ढकाल बताउँछन् । पूर्वसूचना प्रणाली जडान हुँदा मानवीय क्षती न्यून भएको उनले बताए । अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमतालहरु छन् । पछिल्लो ५० वर्षमा धेरैजसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ । २० वटा हिमतालहरु जोखिममा रहेका छन् ।

विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रुत गतिमा पग्लिँदै गइरहेका छन् । यसरी हिमालमा रहेको हिउँ छिटो छिटो पग्लिनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ । फलस्वरुप हिमतालको प्राकृतिक बाँधले पानी थेग्न सक्दैन र हिमताल फुट्ने एवम् तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउने खतरा हुन्छ । नेपालमा धेरैजसो पर्यटकहरु हिमाल आरोहण र हिमश्रृंखलाको दृश्यावलोकनका लागि आउने हुनाले आगामी दिनमा नेपालको पर्यटन क्षेत्र समेत प्रभावित हुने संभावना छ ।

हिमाली भेगमा तीव्र गतिमा हिउँ पग्लिँदै जाँदा स्थायी हिउँ क्षेत्रको अभाव भई ठूला नदीहरु पनि अन्य नदी जस्तै वर्षे नदी बन्ने सम्भावना बढेको विज्ञले बताउँदै आएका छन् । यसले गर्दा जल र स्थलको पारिस्थितिकीय प्रणालीमा असर पुग्नुका साथै खानेपानी तथा सिंचाईका लागि पनि पानीको अभाव हुनेछ । नदीमा पानीको बहाव कम हुँदा जलविद्युत् उत्पादनमा समेत प्रतिकुल असर पर्ने जोखिम छँदै छ । अर्कातिर हिमताल विस्फोटबाट आउने बढीले ठूलो लगानी गरेर बनाइएका जलबिद्युत् आयोजनाहरुमा क्षति पु¥याउन सक्ने विज्ञले बताएका छन् ।

बस्ती र खेतियोग्य जमीन डुबानमा पनेए, नदीको धार बदलिने, तटीय क्षेत्रमा कटान गर्ने र खडेरीले तराईलाई आक्रान्त पार्न सक्ने जोखिमहरु पनि विज्ञले औंल्याउँदै आएका छन् । ‘बढ्दो तातोपनाको कारण विशेष गरेर झाडापखला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज ईन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि हुनगई यसबाट हुने मृत्युदर बढ्दै गइरहेको छ,’ वातावरण पत्रकार राजेश घिमिरेले भने ।

जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय मञ्चको अनुसार सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम ०.८५ डिग्री सेल्सियसले बढिसकेको छ र यो क्रम जारी छ । पृथ्वीको आर्टिक क्षेत्रको समुद्री बरफ हरेक दश वर्षमा ३ प्रतिशतले घटिरहेको तथ्यांक छ । सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समुद्री सतह ०.१८ देखि ०.२ मिटरसम्म उचालिएको छ ।


प्रतिक्रिया दिनुहोस्