सालको पात बन्यो सहारा: ७० वर्षिया दवाडी भन्नुहुन्छ- ‘मागेर खान र उपचार गर्न नपरोस्’ « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

सालको पात बन्यो सहारा: ७० वर्षिया दवाडी भन्नुहुन्छ- ‘मागेर खान र उपचार गर्न नपरोस्’



तनहुँ । दमौलीको कालिका जङ्गल पार्क जाने बाटोमा शरिर स्फूर्त राख्नको लागि ओहोर–दोहोर गर्नेको बाक्लो उपस्थिती हुन्छ । त्यही भीडमा झिसमिसे उज्यालोमा नै एक बृद्धा दिनहुँ लौरी टेक्दै उकाली चढ्नु हुन्छ । अन्य शरिर निरोगी राख्न दौडिने, हिड्ने गरेपनि ७० बर्षिया नन्दकुमारी दवाडीको भने बेग्लै कथा छ ।

दवाडी जीवन निर्वाहको लागि सालको पात टिप्न उकाली र ओराली गर्नुहुन्छ । दिनहुँ जङ्गलमा पुगेर सालको पात टिप्ने र दमौली बजारमा बेचेर नुन र तेल किन्नु हुन्छ । कमाएर ल्याउने श्रीमान्को १२ वर्ष अघि मृत्यु भएको र एक मात्र छोराले वास्ता नगरेकोले जीवन निर्वाह गर्नको लागि सालको पात टिपेको वृद्धा दवाडी बताउनुहुन्छ । उहाँका अनुसार एक छोरा एक नाती र एक नातिनी पनि छन् तर कसैले माया गर्दैनन् । ‘छोरोले मलाई डेरामा छाडेर घरज्वाई बस्न गयो, पाउनुको दुःख मात्रै ।’ दवाडीले भन्नुभयो । विहान पाँच मुठा पात टिप्ने र दिउँसो त्यही बेचेर जीवन धान्ने गरेको दवाडीले बताउनुभयो ।

एउटा मुठाको ५० रुपियाँमा बेच्ने गरेको त्यसैबाट जीवन चलिरहेको उहाँले बताउनुभयो । बढ्दो बुढ्यौलीको घट्दो तागतले गर्दा ठुलो रुखमा चढ्न नसक्दा बोट टिप्ने गरेको धेरै बटुल्न नसकेको उहाँले बताउनुभयो । ‘वृद्धा भक्ताले खान पुग्दैन चार हजार डेरा भाडा तिर्नुपर्छ त्यसैले सालको पात टिपेर जीवन चलाएको छु ।’ दवाडीले भन्नुभयो । शरिर कमजोर बन्दै गएकाले टिप्न समस्या परेपनि विक्रीमा भने समस्या नभएको उहाँ बताउनुहुन्छ ।

दमौलीकी सञ्चारकर्मी अन्जु दाहाल आफूलाई आवश्यक नपरेको बेला पनि सालको पात किन्ने गरेको बताउनुहुन्छ । ‘बुढेस कालमा रहरले नभई वाध्यताले पात बेच्नु परेको छ आमाले त्यही भएर मलाई आवश्यक परेपनि उहाँलाई पैसा चाहिएको होला भनेर देखेको बेला किनिहाल्छु ।’ वृद्धाश्रम जान तथा मागेर खान कतिपयले सुझाव दिएपनि त्यसो नगरेको दवाडी बताउनुहुन्छ । ‘मागेर खान र चन्दा उठाएर उपचार गर्ने अवस्था नओस्, हिड्दा हिड्दै, बोल्दा बोल्दै मर्न पाउँ ।’ बृद्धा दवाडीले भन्नुभयो । गोरखापत्रबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्