महको माग धान्नै मुस्किलः अग्रिम भुक्तानी गर्दा पनि पाउन गाह्रो « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

महको माग धान्नै मुस्किलः अग्रिम भुक्तानी गर्दा पनि पाउन गाह्रो



धनगढी । व्यावसायिक रूपमा मौरीपालन गरिरहेका कैलालीका कृषकलाई महको माग धान्न मुस्किल भएको छ । कोरोना महामारीका कारण महको माग बढेपछि किसानलाई मागअनुसार मह उपलब्ध गराउन धौधौ भएको हो ।

कोरोना महामारी सुरु भएसँगै महको माग उच्च रहेको उनीहरूले बताएका छन् । महामारी सुरु भएपछि महको माग ह्वात्तै बढ्यो, गौरीगङ्गा नगरपालिका–९ का मौरीपालक कृषक मोहनराज खनालले भन्नुभयो, “मागअनुसार हामीले मह उत्पादन नै गर्न सकिरहेका छैनौँ । ” किसानका अनुसार विगतका वर्षमा एक सिजनमा उत्पादित सम्पूर्ण मह बिक्री गर्न एक वर्षसम्म लाग्ने गर्दथ्यो तर यो वर्ष घारबाटैै मह बिक्री भइरहेको छ । मह किन्ने व्यक्तिले अग्रिम बुझाउने गरेको खनालले बताउनुभयो ।

हामीले मह काढ्नु अगाडि नै उपभोक्ताले हामीलाई पैसा बुझाइरहेका छन्, उहाँले भन्नुभयो, “यो वर्ष त व्यापारीको हातसम्म मह पुग्नै पाएको छैन । गाउँघरकै मान्छेले धमाधम खरिद गरिरहेका छन् । ” तोरी सिजनमा पहिलोपटक निकालेको मह मौरीको घार राखिएकै ठाउँबाट बिक्री भएको खनालले बताउनुभयो ।

मैले मौरी चराउन दाङसम्म पु¥याएको थिएँ, उहाँले भन्नुभयो, “उता निकालेको मह सबै उतै बिक्री भयो । ” महामारीका कारण महको माग मात्रै बढेको छैन, मूल्यसमेत वृद्धि भएको छ । थोक खरिद बिक्रीमै प्रतिकेजीमा एक सय रुपियाँ मूल्य वृद्धि भएको किसानले बताएका छन् । थोकमा प्रतिकेजी चार सय र खुद्रामा छ सय रुपियाँमा यो वर्ष मह बिक्री भइरहेको उनीहरूको भनाइ छ ।

महले रोगसँग लड्ने क्षमता बढाउने बताइन्छ । अदुवा वा तातो पानीमा मिसाएर मह खाँदा रुघाखोकीका बिरामीलाई फाइदा हुने गरेकाले महामारीका बेला महको माग उच्च भएको अर्का कृषक घनश्याम पौडेलले बताउनुभयो ।

कोरोना सङ्क्रमित व्यक्तिलाई महले फाइदा हुने गरेको कुरो आएपछि हामीसँग मह स्टक नै हुन पाएको छैन, उहाँले भन्नुभयो, “विगतमा जेठमा निकालेको मह कात्तिक, मङ्सिरसम्म बिक्री गर्ने गर्दथ्यौँ । यो वर्ष जेठमै सकियो । अहिले त झनै माग बढी छ । ” किसानका अनुसार कैलालीमा ५० हजार घार मौरीपालन गर्नसक्ने क्षमता छ तर क्षमतानुसार मौरीघार छैन । जिल्लाभरिका गरेर बढीमा यहाँ सात÷आठ हजार मौरीको घार रहेको हुनसक्ने पौडेल बताउनुहुन्छ ।

हामीकहाँ क्षमतानुसार मौरी घार नरहेको र उत्पादन बढी नहुने गरेका कारण पनि अहिले माग धान्न गाह्रो भएको हो, उहाँले भन्नुभयो । त्यसो त जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने कृषक सङ्ख्या नै थोरै रहेको छ । ५० घारभन्दा बढी मौरी राखेकालाई व्यावसायिक रूपमा मौरीपालनमा अग्रसर भएको मान्दै आएको किसानले जनाएका छन् । जिल्लामा त्यस्ता मौरीपालक कृषकको सङ्ख्या बढीमा १५ रहेको बताइएको छ तर ५० भन्दा कम मौरीघार राखेर मौरीपालन गर्ने व्यक्तिको सङ्ख्या धेरै रहेको जनाइएको छ ।

जिल्लामा बढी मौरीपालन गर्ने कृषक खनालसँग १६८ वटा मौरी घार छ । तोरी सिजनमा मात्रै उहाँले १०र११ क्विन्टल मह उत्पादन गर्दै आउनुभएको छ । यो वर्ष २०र२५ क्विन्टल मह उत्पादन गर्ने लक्ष्य रहेको उहाँले जनाउनुभयो । विगतमा मैले सिजनमा पाँचरछ लाख रुपियाँसम्म आम्दानी गरेको थिएँ, उहाँले भन्नुभयो, “यो वर्ष मौरी बढेकाले १०र१२ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको छु । ”
एक मौरी घारबाट कम्तीमा १५ केजीसम्म मह उत्पादन हुने गरेको छ तर चरन र व्यवस्थापनमा ध्यान दिएमा एकै घारबाट २५ केजीसम्म मह उत्पादन हुने गरेको किसान बताउँछन् । उनीहरूले तोरी, सिसम, जामुन र रुजिलोको फूलमा मौरी चराएर मह उत्पादन गर्दै आएका छन् । सबैभन्दा राम्रो मह जामुनको फूलबाट उत्पादन हुने गरेको कृषक पौडेलले बताउनुभयो ।

मौरीले बोटबिरुवाको परागसेचन कार्यमा सहयोग गर्दै आएका छन् तर स्थानीय कृषकमा चेतनाको कमीका कारण जिल्लामा मौरी चरन र व्यवस्थापनमा समस्या पनि हुने गरेको छ । कतिपय किसानले आफ्नो तोरीमा मौरी चराउन नदिने गरेको गौरीगङ्गा नगरपालिका–८ का मौरीपालक कृषक उमानन्द खनालले बताउनुभयो । मौरीले तोरीको फूल झार्ने र तोरी उत्पादन घट्ने भनेर धेरैले तोरी बारीमा मौरी लानै दिँदैनन्, उहाँले भन्नुभयो ।गोरखापत्रबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्