बागलुङको गलकोटमा फस्टाउँदै व्यावसायिक कागती खेती « Arthapath.com
११ श्रावण २०७९, बुधबार

बागलुङको गलकोटमा फस्टाउँदै व्यावसायिक कागती खेती



काठमाडौं । बागलुङको गलकोटमा व्यावसायिक कागतीखेती सुरु भएको छ ।

गलकोट नगरपालिका–९ छिसका मित्र खरेललाई कागती खेतीप्रति कागती आयात उत्सुकता भयो। कागती खेती आयात प्रतिस्थापन गर्न सकिने उद्देश्यले ६ वर्षअघि मित्र खरेलले आफ्नै जग्गामा परीक्षणका लागि उनले १०० बोट कागतीका बिरुवा रोपे । कागती रोपेपछि खरेलले कागती खेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन अवलोकन समेत गर्न भ्याए । उनले लगाएका १०० बोटमध्ये ८० बोट कागतीले ३ वर्षमै उत्पादन दिन सुरु गर्‍यो । कागती खेतीको परीक्षण सफल भएपछि खरेलको अहिले १० रोपनी जग्गामा ५०० कागतीका बिरुवा छन् ।

उनले भने‘अहिले ३ वर्ष भयो ८० बोटले उत्पादन दिन थालेको भने नयाँ बिरुवा थपेर ५०० बोट पुर्‍याएको छु, पहिलो वर्ष असिनाले खासै उत्पादन भएन, गत वर्ष ४०० केजी कागती पहिलो पटक बिक्री गरेको थिए, अहिले राम्रै फल लागिरहेको छ, ५०० बोटले नै उत्पादन दिन तीन वर्ष अझै लाग्ला ।’ खरेलका अनुसार ५०० बोटले कागती उत्पादन गर्न थालेपछि वार्षिक २ देखि ३ लाखसम्मको कागती बिक्री गर्ने लक्ष्य छ ।
विसं २०७६ मा बाँझो जमिन खरिद गरेर एक हजार ५०० कागतीका बिरुवा लगाएका श्रीषको फर्ममा अहिले कागतीले फूल खेल्न थालेको छ ।

कागतीको सम्भावना अध्ययनपश्चात् ३६ रोपनी जग्गामा ३ वर्षअघि कागती खेती थालेका श्रीषले कागतीका बिरुवा फस्टाउँदै गएपछि दङ्ग परेका छन् । उनले आफ्नो कागती फर्ममा आगमी वर्ष व्यावसायिकरुपमा कागती उत्पादन जानकारी दिए । ‘झाँडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका बिरुवा ३ वर्षअघि मात्रै लगाएको थिए, अहिले कागतीका बोट हुर्कंदै छन्, अहिले सामान्य फल लाग्ने अवस्था छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुनेमा विश्वस्त छु’, उनले भने, ‘सबै बिरुवाले पूणर्रुपमा उत्पादन दिन थालेमा गलकोटको बजारको कागतीको माग धान्नसक्ने योजना हो ।’

तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर युवाले २०७४ सालमा श्रीष कृषि तथा पशु फार्म दर्ता गरेका छन् । गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागतीखेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको उनको भनाइ छ ।

कागती खेतीको प्रोत्साहनका लागि गलकोट नगरपालिकासमेत सक्रिय देखिन्छ । गलकोट नगरपालिकाले सुरुआती चरणमा कागतीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको, सिँचाइका लागि व्यवस्थापन गरेको र प्राविधिक सल्लाह सुझाव दिँदै आएको गलकोट नगरपालिका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकाले १०० बोट कागती लगाउने किसानको अभिलेख राख्ने गरेको छ ।

गलकोटभर २०० भन्दाबढी कागतीका बिरुवा लगाउनेको सङ्ख्या पाँच, १०० भन्दामाथि बिरुवा लगाउनेको संख्या पाँच र ५० बिरुवा लगाउने किसानको संख्या १० गरी व्यावसायिक कागती खेती थाल्ने किसानको संख्या २० पुगेको छ । ‘गलकोटमा पछिल्लो समय व्यावसायिक कागतीखेती फस्टाउँदै आएको छ, किसान कागती खेतीप्रति आकर्षित भएका छन्’, उनले भने, ‘पालिकाले सक्दो सहयोग गरेको छ, नगरपालिकाले तरकारीमा नै गलकोटलाई आत्मनिर्भर गराउने लक्ष्य लिएको छ, कागतीमा केही वर्षमै आत्मनिर्भर हुनेछ ।’ गलकोट नगरपालिका क्षेत्रमा कागती खेतीको राम्रो सम्भावना रहेको छ ।

समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना देखिन्छ । कागती स्वास्थ्यका लागि समेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ । गलकोट क्षेत्रमा कागती उत्पादन भएमा बागलुङमा भारतबाट आयातित गर्नुपर्ने बाध्यतासमेत अन्त्य हुने कागती खेतीमा लागेका कृषक बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्