हप्ताभरमै साढे ४७ रुपैयाँ सस्तियो प्याजको भाउ, भारतीय प्रतिबन्धको प्रभाव मत्थरहुँदै
काठमाडौं । भारतीय प्रतिबन्धपछि आकाशिएको प्याजको भाऊ अहिले प्रतिबन्ध अघिको अवस्थाभन्दा पनि सस्तो हुन पुगेको छ । तीन साताअघि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा केही दिन प्याज अभाव भयो । यसपछि प्याजको भाउ असाध्यै धेरै बढ्यो । फलस्वरुप सरकारको आलोचना पनि भएको थियो ।
प्रतिबन्धअघि १८ मंसिरमा प्रतिकिलो सुकेको भारतीय प्याजको औसत मूल्य ९७.५० रुपैयाँ थियो । बुधबार त्यही प्याज प्रतिकिलो औसत ९५ रुपैयाँमा विक्री भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
भारतले प्याजको मूल्य नियन्त्रण गर्ने भन्दै निर्यात प्रतिबन्ध लगाएपछि नेपाली बजारमा केही दिन सुकेको प्याजको अभाव देखिएको थियो । तर विस्तारै प्याजको उपलब्धता बढ्न थाल्यो । यसबीच २८ मंसिरमा कालिमाटीमै प्याजको औसत मूल्य प्रतिकिलो १४७.५ रुपैयाँसम्म पुग्यो । खुद्रा बजारमा त ठाउँ हेरेर मूल्य तय भए । काठमाडौं उपत्यकाका कयौं स्थानमा एक किले प्याज २ यससम्म कारोबार भयो ।
तर पुसको पहिलो साताबाट चिनियाँ प्याज आयात हुन थाल्यो । भारतबाटै पनि अनौपचारिक रुपमा प्याजको आयात ह्वात्तै बढ्यो । यसले सुकेको प्याजको भाउमा भारी गिरावट आएको छ । एक साताअघि १४२.५ रुपैयाँ प्रतिकिलो रहेको प्याजको औसत मूल्य बुधबार ९५ रुपैयाँमा झरेको हो । चिनियाँ प्याजको मूल्य औसत ८५ रुपैयाँ प्रतिकिलोमा झरेको छ ।
यसरी भारतले प्रतिबन्ध लगाएको तीन साता नबित्दै प्याजको भाउ पहिलेभन्दा सस्तो हुन पुगेको हो । यो मूल्य एक महिना अर्थात् ११ मंसिरयताकै सस्तो हो । एक सातामा ४७.५० पैसा र उच्चतम मूल्यबाट ५२.५ रुपैयाँ सस्तिएको प्याजमात्रै होइन, अन्य तरकारी र फलफूल पनि सस्तो भएका छन् ।
डल्लो च्याउको भाउ एक सातामा किलोमै ५२ रुपैयाँ सस्तिएको छ । गत साता औसत ३२२ रुपैयाँ किलो पुगेको डल्लो च्याउको भाउ अहिले २७० रुपैयाँमा झरेको छ । कन्य च्याउको भाउ पनि सातामा २० रुपैयाँ सस्तिएर प्रतिकिलो १४४ रुपैयाँमा आएको छ । बरेला, मेथिको साग, चमसुरको साग, बकूला, अदुवा, तरुल, सखरखण्ड, घिउसिमी, मटरकोसा लगायतका तरकारीको भाउ पनि सस्तिएको छ ।
फलफूलमा अम्बाको भाउ सर्वाधिक सस्तिएको छ । एक सातामा अम्बा प्रतिकिलो ६५ रुपैयाँ सस्तिएर औसत ११० रुपैयाँ किलोमै पाइएको छ । झोले स्याउ, निबुवा र अमलाको मूल्य पनि सस्तिएको छ । तर किविको भाउ किलोमै १०० रुपैयाँ महँगिएर ३५० पुगेको छ । शरिफाको भाउ ९० रुपैयाँ, कालो अंगुर ७० रुपैयाँ र आभोकाडो ५० रुपैयाँ महँगिएका छन् ।
तरकारीमा हरियो लसुन सर्वाधिक ४५ रुपैयाँ महँगिएको छ । सुकेको छ्यापी ३५ रुपैयाँ, राजमा २२ रुपैयाँ र तितो करेला १९ रुपैयाँ महँगिएका छन् ।