इभी प्रोमोसनमा सरकारले छुट दिँदै गर्दा अन्य सवारी आयात गर्नै नपाउने ? « Arthapath.com
५ आश्विन २०७९, बुधबार

अन्तर्वार्ता:

इभी प्रोमोसनमा सरकारले छुट दिँदै गर्दा अन्य सवारी आयात गर्नै नपाउने ?



अनुप बराल, संयोजक, नाडा ईभी अटो सो २०७९

  • ५० वटा स्टल हुने ई भी शोमा ४० हजारले भ्रमण गर्ने अनुमान छ । 
  • ई भी भनेको दोस्रो कार हो जस्ता भ्रम चिर्नका लागि पनि यो ईभी एक्स्पोले ठुलो मद्दत गर्दछ ।
  • सरकारसँग माग्ने व्यवसायीको अधिकार हो ।
  • यही अवस्था रहे दसैँपछि व्यवसायीले हजारौँ कामदारलाई अवकाश दिनुपर्ने अवस्था छ ।

नाडा ईभी एक्स्पो २०२२ को लागि अहिले के कस्तो तयारी भइरहेको छ ?

यति बेला हामी ब्यापक तयारीमा छौँ । सबै सहभागीहरू आ–आफ्नो स्टल बनाउँदै हुनुहुन्छ । अन्य प्राविधिक कुराहरू पनि तयारी अवस्थामा रहेका छन् । अब हामी लगभग तयार छौँ ।  

ईभी एक्स्पोको विशेष आकर्षणहरू के–के हुन् ?

सबैभन्दा ठुलो आकर्षण भनेकै विद्युतीय सवारी हो । नेपालको लागि ई भी आफैँमा एक आकर्षण हो । हरेक प्रडक्टको आ–आफ्नो मूल्य र मान्यताहरू छन् । नेपालमा ईभीको लहर चलिरहेको छ । यसप्रति विश्वास बढिरहेको छ । त्यो अवस्था बुझ्नका लागि ई भी सो नै ठुलो प्लेटफर्म बनेको छ । यसमा विश्वमा अत्यन्तै चर्चित बनेको टेस्ला,  भारतका चार पाङ्ग्रे ब्रान्डहरू प्रदर्शनीमा राखिने छन् । हुन्डाई, नेटा ई भी जस्तो ब्रान्ड पनि यहाँ छ । यस्तै, टु ह्वीलर्समा हिरो इलेक्ट्रिक सहित भारत, चीन लगायतका देशहरूमा उत्पादन भएका ब्रान्ड छन् । ई भी भनेको दोस्रो कार हो जस्ता भ्रम चिर्नका लागि पनि यो ईभी एक्स्पोले ठुलो मद्दत गर्दछ । यहाँ प्रविधि बुझ्नका लागि विद्यार्थी र प्रविधि प्रयोगकर्ताहरूका लागि पनि यो ठुलो प्लेटफर्म बन्न सक्छ । 

ईभी अटो सो पहिलो पटक हुँदै छ । नेपालको मौलिक अवस्था र सडकको गुणस्तरका कारण इभीको कति ठुलो बजार देख्नु भएको छ ? 

हरेक बस्तुको एउटा बजार हुन्छ । इभीको भविष्य छैन त भन्नै सकिँदैन/मिल्दैन । अब इभीको नै भविष्य छ । नेपालको बाटोमा सुहाउने नसुहाउने भन्ने होइन । भौगोलिक अवस्था अनुसार उपयुक्त हुने गाडीको विकास हुँदै जान्छ । सुरुमै हामी मिल्दैन, बाटो पनि सुहाउँदैन भन्ने अवस्था आयो भने त सुरुवात नै गर्न सक्दैनौँ । अहिले तराई भेग र उपत्यकामा चल्न मिल्ने ईभीहरु चल्न थालेका छन् । छोटो दुरीका उपयुक्त हुने ई भी नेपालमा आइसकेका छन् । पछिल्लो समय त झन् राजमार्गमै चार्ज गरेर सानो सानो भ्यानहरू, बसहरू चल्न थालेका छन् । यी सब सुरुवात भएकाले यसलाई हामीले सकारात्मक लिनुपर्छ । 

तपाईँहरू सधैँ सरकारसँग केही न केही मागिरहेको हुनुहुन्छ । सरकारले पनि माग पुरा नगरी व्यवसायीले सरकारलाई गुनासो गर्न नछोड्ने परिपाटी कहिले अन्त्य हुन्छ ?

सरकारले अटो व्यवसायीलाई दिएको के छ ? यहाँ त अटो व्यवसायीहरूले मात्र सरकारलाई दिएका छन् । २४० देखि ३५० प्रतिशतसम्म राजस्व तिरेर गाडी ल्याउन पाउने अनि बेच्न नपाउने अवस्था छ हाम्रो देशमा । उपभत्ताले किन्न सक्ने अवस्था पनि छैन । भन्सार छुटाएर ल्याएको गाडी पनि फाइनान्स गरेर नबेच भनिएको छ । उता ३०० प्रतिशतसम्म कर लिने, अनि बैङ्क फाइनान्स नभएर बेच्नै नपाउने अवस्था छ । यो ठुलो अन्याय हो । सरकारसँग माग्ने व्यवसायीको अधिकार हो । पछिल्लो समय इलेक्ट्रिक सवारीलाई छुट दिएको छ । यसलाई हामीले सकारात्मक लिएका छौँ । ई भी प्रमोसनमा सरकारले छुट दिएको छ । त्यो राम्रो हो । तर, ईभीलाई छुट दिँदै गर्दा अन्य सवारी आयात गर्नै नपाउने भएपछि त त्यसले मात्र रोजी रोटी दिन सक्दैन नि । यस्ता कुराहरूलाई सरकारले ब्यालेन्स गर्नुपर्‍यो । गैर कानुनी हो र आयातमा रोक लगाउन ? 

सरकारले गाडी आयातमा प्रतिबन्ध लगाए पनि व्यवसायीले गाडी बेच्न त छोडेका छैनन् । गाडीको अभाव त छैन नि ? 

अभाव नै छ । तपाईँ खोजेको कलर, मोडेल पाउनु भएन । २०–३० वटा गाडी राखेर यत्रो ठुलो लगानीको व्यवसाय चल्न सक्दैन । वित्तीय लगानीलाई सबल बनाउन पर्‍यो । सडक पूर्वाधार पनि सुधार्नु पर्‍यो । सरकारले विकासको कुरै नगर्ने, भएभरको पैसा तलब खाने अनि व्यवसायीलाई धराशायी बनाउन आयात रोक लगाएर हुन्छ ? अनि अटो व्यवासायीहरुको अरबौँ लगानी लिन कहाँ जाने त, यस्तो खालको अवस्था छ । सरकारले अटो मोबाइल व्यवसायीलाई कति पनि सहयोग गरिरहेको छैन । 

अहिले अटो व्यवसाय ६० प्रतिशत गिरावट आयो भन्ने सुनिन्छ, अब तपाईँहरूले के सोच्नु भएको छ ?

यसमा सोच्न सक्ने ठाउँ नै छैन । करोडौँ, अरबौँ रुपैयाँ लगानी गरेर व्यवसाय चलाइरहेका छौँ । हजारौँको रोजीरोटी नै गुम्ने अवस्था छ । दसैँपछि व्यवसायीले हजारौँ कामदारलाई अवकाश दिनुपर्ने अवस्था छ । व्यवसाय करिब ठप्प छ । एकातिर बैङ्कले पैसा छैन पनि भन्छ, अर्को तिर अरबौँ नाफा पनि कमाइरहेको छ । अनि यता सरकारले आयातमा रोक लगाउँछ । हामी त मान्छे पालेर मात्रै बस्न त सक्दैनौँ । अटो व्यवसायीलाई अहिलेको अवस्थामा असाध्यै अप्ठ्यारो छ । त्यसमा पनि कमर्सियल डिभिजनका गाडीहरू आयात भएका छन् । तर, फाइनान्स हुँदैनन् । यो अर्को समस्या छ । यी सबै समस्याहरूको सहजीकरण गर्ने दायित्व सरकारको हो । 

हामी ट्रेडिङ्ग बेस बिजनेसमा कति आत्मनिर्भर रहने ? नेपालीलाई उपयुक्त हुने गाडी देशभित्रै उत्पादन गरेर बेच्न नसक्नुको कारण व्यवसायी हो कि सरकार ? 

नेपाल जस्तो मुलुकमा गाडी तयार गरेर कति बेच्न सकिन्छ ? अहिले कुनै पनि गाडी उत्पादकले नेपालको लागि भनेर गाडी बनाएको छैन । भारतको एउटा सानो सहरमा बिक्री हुने जति ब्रान्ड नेपालमा वर्षभरि नै बिक्री हुँदैन ।  अनि के बनाउने यहाँ । के ब्रान्डले कति बनाउने ? गाडी बनाउने भन्ने कुरा खेलाँची होइन । नेपालमा एउटा कलम बनाउन त कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्छ । साबुन उद्योगहरूको आफ्नै दुःखहरू छन् । केही निश्चित पार्ट पूर्जामात्रै नेपालमा बन्न सक्छन् । यसका लागि सरकारले सहजीकरण गरिदिनु राम्रो हो । नेपालमै उत्पादन गर्ने भन्ने को भने ट्रक कति वटा बनाउने ? कार कति वटा बनाउने ? हावाका भरमा गाडी बनाएँ, एसेम्बल बनाएँ भनेर सरकारले भन्नु पनि मूख्र्याई हुन्छ । टु ह्वीलर्स एसम्बल आइसकेको छ । बजाज, टीभीएस, एसम्बल गरिरहेका छन् । अब बिस्तारै यामाहा, हिरो, होन्डा आउँदै छ । सम्भव भएका र भोलुम भएकाहरू अवश्य आउँछन् । गाडी यही बनाउनुहोस् भनेर हुन्छ ? मुस्ताङ गाडी बनाएको होइन र ? खोइ त त्यो अब म्युजियममा पनि भेटिँदैन । पूर्वाधार पनि त्यस्तै छ । १९५७ मा निर्माण भएको नागढुंगा नौबिसेको बाटो अहिलेसम्म बढेको छैन । सत्तरी वर्षमा १४–१५ किलोमिटर बाटो बढ्दैन अनि देशभक्ति देखाएर स्वदेशमै उत्पादन गर्ने तर्क गरेर हुन्छ ? 

यो अटो शोमा केके प्रडक्टका स्टलहरू हुन्छन् ? 

साना ठुला गरेर जम्मा ५० वटा स्टलहरू हुन्छ । सवारी साधनहरू दुई पाङ्ग्रे र चार पाङ्ग्रे ईभीमात्रै हुन्छ । सवारीसाधनका पार्टपुर्जा पनि हुन्छन् । सवारीसँग जोडिएका सबै चीजको स्टल हुन्छ । 

कति आगन्तुकले अवलोकन गर्ने आकलन गर्नुभएको छ ? 

हामीले ४० हजार आगन्तुकले अवलोकन गर्ने अनुमान गरेका छौँ । चार दिनसम्म चल्ने शोमा प्रतिदिन १० हजारले अवलोकन गर्ने छन् । त्यसको व्यवस्थापन अलि चुनौतीपूर्ण हुने छ । किनकि हामी हलभित्र छौँ । त्यस कारण समय व्यवस्थापन गरेर आउने भिजिटर्सलाई अप्ठ्यारो नपरोस् भनेर सहज वातावरण बनाउने कोसिस गर्नेछौँ । 

कति कारोबारको लक्ष्य राख्नु भएको छ ? 

हामीले पहिले नै कारोबारको लक्ष्य भन्न सक्दैनौँ । नाडाले कारोबार गर्दैन । हामी सहजिकरण मात्रै गर्ने हो । स्टल राख्ने प्रदर्शकहरूले कति बुक गर्नुहुन्छ, कति बेच्नु हुन्छ त्यो सबै उहाँहरूमा नै भर पर्ने कुरा हो । 

Tags :

प्रतिक्रिया दिनुहोस्