‘आयात फुकुवा गरेपनि व्यवसाय चलायमान हुने अवस्था छैन, नीतिगत सुधार आवश्यक’ : अध्यक्ष थापा « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

‘आयात फुकुवा गरेपनि व्यवसाय चलायमान हुने अवस्था छैन, नीतिगत सुधार आवश्यक’ : अध्यक्ष थापा



काठमाडौं । सरकारले सवारी आयातमा फुकुवा गरेतापनि व्यवसायीहरुले भने आन्दोलन जारी राख्ने भएका छन् । नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपाल (नाडा)ले सवारी सहित चार वस्तुको आयात फुकुवा गरे पनि व्यवसाय गर्ने वातावरण नभएको जनाएको छ ।

नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले आयात खुला गरेपछि व्यवसाय गर्ने वातावरण नभएको बताए । उनले भने,–‘हाम्रो मागहरु आयात मात्र खुला गनुपर्छ भन्ने थिएन । तर, सरकारले राजश्वमा कमी आउन थालेपछि आयात खुला गरेको हो । सवारी आयात बाहेक अन्य विषयमा पनि सुधार गर्नुपर्नेछ ।’

थापाका अनुसार सवारी आयात खुलाले मात्रै व्यवसाय चलायमान नहुने अवस्था रहेको बताए । यद्यपि, केही रुपमा गति लिन सक्ने आशा व्यक्त गरे । आयात प्रतिबन्ध फुकुवाले मात्रै व्यापार नबढ्ने र यसका लागि बैंकले लगाएको १५० प्रतिशतसम्मको जोखिम भार पनि कम गर्नुपर्ने थापाको भनाई छ । उनले व्यापार व्यवसाय वृद्धिका लागि नीतिगत सुधारको आवश्यक रहेको बताए । उनले भने,–‘व्यापार व्यवसाय बढाउनका लागि बैंकको ब्याजदर घटाउने र चालु पुँजी कर्जालाई पनि खारेज गर्न आवश्यक छ ।’ उनले थप,–‘राष्ट्र बैंकले ल्याएको एक पछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु, हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा सुधार गनुपर्छ ।’

नाडाले पटक पटक नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने लगायतमा माग सरकरसंग राख्दै आएको छ ।

नाडाले अटोलोन हायर पर्चेज कर्जामा जोखिम भारलाई ७५ प्रतिशत कायम गर्नुपर्ने, बैकहरुको तरलता अभावलाई सहज बनाउन सिडि रेसियोलाई पुनरावलोकन गर्नुपर्ने, बैकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु्पर्ने, निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रिया ७० प्रतिशत कायम कायम पर्ने, पूर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने लगायतको माग राखेको छ ।

सरकारले आगामी पुस १ गतेदेखि सवारी साधान, मोबाइल र मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले आयात प्रतिबन्ध लगाएको थियो । जुन मंसिर मसान्तसम्म भने कायमै रहेको छ ।

पुस १ गतेदेखि भने विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात फुकुवा भएको हो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ । विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाखदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्