विद्युतीय सवारीमय बन्दै नेपाली अटो बजार, सवा ६ अर्ब बढीको २ हजार १९८ गाडी नेपाल भित्रिए « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

विद्युतीय सवारीमय बन्दै नेपाली अटो बजार, सवा ६ अर्ब बढीको २ हजार १९८ गाडी नेपाल भित्रिए



काठमाडौं । आठ महिनामा २ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा २ हजार १९८ वटा विद्युतीय सवारी आयात भएको हो ।

चालु आवको फागुन मसान्तसम्ममा ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । विस्तारै नेपाली अटो बजार विद्युतीय सवारीमय बन्दै गएको पाइन्छ ।

पेट्रोलिय पदार्थबाट चल्ने गाडी भन्दा कम खर्च लाग्ने, वातावरण अनुकुल र स्वास्थ्यका लागि समेत राम्रो हुने भएकाले विद्युतीय सवारी आम प्रयोगकर्ताको रोजाईमा परेको हो । पेट्रोल, मर्मत, सर्भिसिंङ, क्लीच, गियर, मोविल लगायतको खर्च पनि बचत हुने र दीर्घकालिन सोच राख्नेका लागि विद्युतीय सवारी सस्तो हुने भएपछि यस तर्फ आकर्षण बढेको विज्ञहरुको भनाई छ ।

सरकारको नीति नै विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्नेमा नै केन्द्रित छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी प्रयोगका लागि प्रोत्साहन गर्दै आएको छ। प्राधिकरणले हाल ५० वटा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । यता, निजी क्षेत्रका विद्युतीय सवारी साधन बिक्रेताले पनि आफ्नै लगानीमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।

पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका संख्या पनि बढ्दो क्रममा रहेको छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि विस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको हो । विद्युतीय सवारीले वातातरण बचाउनुका साथै मुलकुको व्यापार घाटा समेत न्युनिकरण गर्न थप सहयोग गर्ने जानकारहरु बताउँछन् ।

फागुनमा मात्रै थप १८६ वटा विद्युीय गाडी नेपाल आए

पछिल्लो एक महिनामा थप १८६ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । चालु आवको फागुन महिनामा सो संख्यामा विद्युतीय गाडी आयात भएको हो ।

चालु आवको आठ महिनासम्ममा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ । विभागका अनुसार भारतबाट ४ अर्ब २५ करोड ५८ लाख ७६ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो । फागुनसम्ममा भारतबाट १ हजार ५७१ वटा विद्युतीय गाडी आयत भएको छ ।

यस्तै, कोरियाबाट ९७ करोड ५६ लाख ३९ हजार रुपैयाँ बराबरको २५२ वटा, चीनबाट ९० करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको ३६८ वटा, अमेरिकाबाट २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको ४ वटा विद्युतीय गाडी आयात भएको छ ।
विभागका अनुसार सो अवधिमा इन्डोनेसियाबाट भने ६४ लाख ६ हजार रुपैयाँ बराबरको ३ वटा गाडी नेपाल भित्रिएका छन् ।

औसतमा मासिक २७४ विद्युतीय गाडी नेपाल भित्रिए, डेढ अर्ब बढी राजश्व संकलन

विभागको तथ्याङ्क अनुसार नेपालमा औषतमा मासिक २७४ वटा विद्युतीय सवारी आयात हुने गरेको देखिएको छ ।चालु आवको पहिलो महिनादेखि फागुन मसान्तसम्मको आयात तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको आठ महिनामा विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ७३ करोड ८९ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत माघ महिनासम्ममा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको २ हजार ९ वटा विद्युतीय सवारी आयात भएको थियो । सो अवधिमा सरकारले १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, पुसमा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ, मंसिरमा ३ अर्ब ८२ करोड ५७ लाख, कात्तिकमा २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार, असोजमा २ अर्ब ५० लाख रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएका थिए । यी महिनाहरुमा क्रमशः १ हजार ७४९ वटा, १ हजार ३५३, १ हजार १८ र ७०५ वटा विद्युतीय गाडी आयात भएका थिए ।

यस्तै, भदौमा १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको ४१४ वटा र साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २११ वटा इभि नेपाल भित्रिएका छन् । चालु आवको पहिलो महिनामा भने विद्युतीय आयातबाट सरकारले २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्