साढे दुई लाख बढी इम्बोस्ड नम्बर प्लेट उत्पादन: ५१ हजार बढी जडान, थप ५ लाख स्मार्ट लाइसेन्स « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

साढे दुई लाख बढी इम्बोस्ड नम्बर प्लेट उत्पादन: ५१ हजार बढी जडान, थप ५ लाख स्मार्ट लाइसेन्स



काठमाडौं । चालु आर्थिक वर्षमा ५१ हजार बढी सवारी साधानमा ईम्बोस्ड नम्बर प्लेट जडान भएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

गत फागुन मसान्तसम्ममा १ लाख ५७ हजार ३९४ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ । सो अवधिमा ५१ हजार १९ थान इम्बोस्ड नम्बर प्लेट जडानका लागि वितरण गरिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । गत असार मसान्तसम्ममा भने २ लाख २९ हजार ४३८ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको थियो । सो अवधिमा ३३ हजार ९७२ थान जडानका लागि वितरण भएको थियो ।

गत असारसम्ममा चार स्थानबाट इम्बोस्ड नम्बर प्लेटको जडान तथा वितरण हुँदै आएको थियो । तर, चालु आवदेखि पोखरा र बुटवलबाट समेत यस्तो जडान तथा वितरण कार्य सुरु भएको छ ।

चालु आवको फागुन मसान्तसम्ममा थप ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र (इलेक्ट्रोलिक स्मार्ट कार्ड प्रिन्त भएको अर्थमन्त्रालयले जनाएको छ । गत असार मसान्तसम्ममा भने २७ लाख २९ हजार ४५३ वटा सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो । तर, चालु आवको फागुनसम्म आईपुग्दा भने यस्तो संख्या ३२ लाख ३१ हजार ४७५ पुगेको छ ।

फागुनसम्ममा थप ५ वटा यातायात व्यवस्था कार्यालय/सेवा कार्यालय (गौर, चितवन, राजविराज, पाल्पा र चौरजारही मा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएको छ । हाल यस्तो संख्या ३६ वटा पुगेको छ । गत असार मसान्तसम्मा भने ३१ वटा यातायात व्यवस्था कार्यालय, सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएको थियो ।


प्रतिक्रिया दिनुहोस्