सस्ता गाडीमा उच्च मोह, ‘नाडा अटो शो’मा किन रुचाइएका छन् यी इलेक्ट्रिक गाडीहरू ?

काठमाडौं । ‘नाडा अटो शो २०२३’ मा सस्ता गाडीमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ । गत मङ्गलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको उक्त शोमा विद्युतीय सवारीमा निकै आकर्षण देखिएको हो ।
नाडा अटो शो आज चौथो दिनमा चलिरहेको छ । सो दिनसम्म आइपुग्दा अवलोकनकर्ताको चाप निकै बढी रहेको छ । जति अवलोकनकर्ताहरूको चाप बढी रहेको छ, त्यत्ति भिड विद्युतीय सवारीमा देख्न सकिन्छ ।
विशेषगरि चार पाङ्ग्रे विद्युतीय सवारीमा आगन्तुकको बाक्लो भिड लागेको आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका प्रतिनिधिले बताए । उनले भने,–‘विशेष गरी विद्युतीय सवारीहरूको स्टलमा निकै नै भिड देख्न सकिन्छ । पछिल्लो समय विद्युतीय सवारीमा आम मानिसका क्रेज बढ्दो नै छ । नयाँ तथा पुराना विद्युतीय सवारीको बारेमा बुझ्न चाहनेहरूको र हेर्न चाहनेहरूको निकै भिड बढी देख्न सकिन्छ ।’
उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।
विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको छ । शोमा १२० वटा स्टल तथा ब्लकहरू रहेका छन् ।
उक्त शोमा न्यूनतम १४ लाख रुपैयाँदेखि साढे २ करोड रुपैयाँ मूल्य पर्ने सवारी साधानहरु प्रदर्शनीमा रहेका छन् । त्यसमध्ये पनि २५ लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीमा अवलोकनकर्ताहरूको निकै आकर्षण देखिएको छ । अटो शोमा सस्तो गाडी खरिद गर्न खोज्नेहरूका लागि भने दर्जन बढी विद्युतीय सवारी रोज्न सक्नेछन् । नाडा अटो शोमा पनि विद्युतीय गाडी प्रति आगन्तुकको निकै आकर्षण देखिएको छ । प्रदर्शनीमा रहेकामध्ये पनि धेरै इभि नै छन् ।
एमएडब्लूका सेरेस गाडी, पारामाउन्ट मोटर्सको दुई विद्युतीय सवारी कमिट प्ले र पिस गाडी, बुलिङ एयरको इभी, टाटाका दुई विद्युतीय गाडीमा नै भम्रणकर्ताहरुको बढी आकर्षण देखिएको हो । यी कम्पनीहरूका गाडी १४ देखि २५ लाख रुपैयाँ मूल्य भित्रका हुन् ।
विद्युतीय सवारीमा बैङ्क तथा वित्तीय कम्पनीहरूले पनि विद्युतीय सवारी खरिदमा कर्जा लगानी बढाउन विभिन्न स्किमहरू ल्याएका छन् । जसले उपभोक्तालाई पनि थप प्रोत्साहन गरेको छ । बैङ्कहरूले सस्तो, सहज र सहज किस्ताबन्दीमा कर्जा लगानी गरिदिने भएपछि नै विद्युतीय सवारी हेर्न, बुकिङ गर्नेको सङ्ख्या बढेको हो । विद्युतीय सवारीमा बैङ्कहरूले ८० प्रतिशतसम्म सस्तो ब्याजदरमा फाइनान्सिङको सुविधा दिएकाले नै आकर्षण बढेको बताइन्छ ।
नाडा अटो शोमा दर्जन बैङ्कहरूले स्टल नै राखेर फाइनान्सिङ सुविधाका प्रदान गरिरहेका छन् । उक्त शोमा सहभागिता नभएका बैङ्कहरूले पनि इभि खरिदमा विभिन्न सुविधा सहितका कर्जा योजना अघि सारेका छन् ।
नाडा अटो शोमा उपलब्ध सस्ता विद्युतीय सवारी, कुन गाडी कतिमा पाइन्छ ?
एमएडब्लूका सेरेस गाडी पनि १४ लाखदेखि १८ लाखसम्म पाइने
नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू नेपालले पनि अटो शोमा आफ्ना ब्रान्ड प्रदर्शनीमा राखेको छ ।
कम्पनीले सबै विद्युतीय सवारी नै प्रदर्शनीमा राखेको हो । अटो शोमा सबैभन्दा सस्तो मूल्य एमएडब्लूका सेरेस गाडीहरू उपलब्ध रहेका छन् ।

१८० किलो मिटर रेन्ज र वेस्ट अप्सन भएको मिनी इभीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार १८० किलो मिटर फूल अप्सनको १६ लाख ९९ हजार र २२० किलो मिटर फूल अप्सनको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

पारामाउन्ट मोटर्सको दुई विद्युतीय सवारी कमिट प्ले र पिस २१ लाख भन्दा कम
नाडा अटो शोमा राखिएको मध्ये सस्तो मूल्यको अर्को विद्युतीय सवारीमध्ये एमजी कमेट इभी प्ले र एमजी कमिट पिस पनि हो । अन्य ब्रान्डका गाडी भन्दा यी दुई सवारीको मूल्य पनि तुलनात्मक रूपमा सस्तो मानिएको छ ।

अटो शोमा एमजि गाडीको विद्युतीय सवारीले पनि माहोल तताएका छन् । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले एमजि कमेट इभि प्ले प्रदर्शनीमा राखेको छ ।

एमजी कमिट प्लेको मूल्य २० लाख ९९ हजार र एमजी कमिट पिसको १८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ । एमजीको तीन मोडेलका विद्युतीय सवारी नाडा अटो शोमा राखिएको छ ।
बुलिङ एयर इभी पनि २१ लाखमै किन्न सकिने
नेपाली बजारमा बुलिङ एयर इभि खरिद गर्नेहरू पनि सस्तो मूल्यमा पर्नेछ । बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले बुलिङ एयर इभी ल्याएको हो । उक्त गाडी पनि नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ । यसको मूल्य पनि २० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसले २०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

टाटाका दुई विद्युतीय कार २३ लाखभन्दा कम मूल्यमा किन्न सकिने
टाटा मोटर्सले नाडा अटो शोमा तीन वटा गाडी लन्च गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले तीन विद्युतीय गाडी टियागो, नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरी प्रदर्शनीमा राखेको छ ।

टियागो इभी अन्तर्गतका एक्सई भेरियण्टको मूल्य २१ लाख ९९ हजार, एक्सटी २२ लाख ९९ हजार मूल्य कायम गरिएको छ । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच वटा मुख्य विशेषताहरू रहेका छन् । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायी ता रहेका छन् ।
क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ ।