नोभेम्बरमा साढे १५ लाख बाइक तथा स्कुटर बिक्री: हिरो र होन्डाको हिस्सा धेरै, टिभीएस र बजाजको कति ? « Arthapath.com
१९ मंसिर २०८०, मंगलवार

नोभेम्बरमा साढे १५ लाख बाइक तथा स्कुटर बिक्री: हिरो र होन्डाको हिस्सा धेरै, टिभीएस र बजाजको कति ?



काठमाडौं । बाइक तथा स्कुटर बिक्री दोहोरो अङ्कले बढेको छ । अटोकार इन्डियाका  अनुसार एक वर्षमै थप ३ लाख ७३ हजार बढी बाइक तथा स्कुटर बिक्री गरेका हुन् । 

गत वर्ष सन् २०२२ को नोभेम्बरमा बाइक तथा स्कुटरका बिक्रेताहरूले  ११ लाख ७७ हजार ६८२ वटा दुई पाङ्ग्रे सवारी बेचेका थिए । तर, सन् २०२३ को सोही अवधिमा आइपुग्दा भने ३१.६८ प्रतिशतले बढेको छ । गत नोभेम्बरमा कम्पनीहरूले १५ लाख ५० हजार ८४९ वटा विभिन्न ब्रान्डका बाइक तथा स्कुटर बिक्री गरेका छन् ।

यद्यपि, गत अक्टोबरको तुलनामा भने कम हो । गत अक्टोबरमा हालसम्मकै धेरै अर्थात् १८ लाख ११ हजार २१६ वटा बाइक तथा बिक्री भएको आँकडा छ । अक्टोबरमा परेको चाडपर्वले यस्ता सवारी बिक्री उल्लेख्य बढेको थियो । 

हिरो र होन्डाको सबैभन्दा धेरै बिक्री, एकै महिनामा ४ लाख बढी बेचे 

नोभेम्बरमा सबैभन्दा धेरै हिरो मोटो कर्पले बिक्री गरेको छ । सो महिनामा उक्त ब्रान्डका ४ लाख ७६ हजार २८६ वटा बाइक तथा स्कुटर बिक्री भएका छन् । यो गत वर्ष २०२२ को सोही महिनाको तुलनामा भने २५.३९ प्रतिशतले बढी हो । गत वर्षको नोभेम्बरमा हिरो मोटो कर्पले ३ लाख ७९हजार ८३९ वटा बाइक तथा स्कुटर बिक्री गरेको थियो । गत अक्टोबरमा मात्रै कम्पनीले ५ लाख ५९ हजार बढी बाइक तथा स्कुटर बिक्री गरेको छ । 

यस्तै, नोभेम्बरमा होन्डाले पनि ४ लाख २० हजार ६७७ वटा बाइक तथा स्कुटर बेचेको छ । गत वर्षको तुलनामा भने १८.९८ प्रतिशतले बढी हो । गत वर्षको नोभेम्बरमा कम्पनीले ३ लाख ५३ हजार ५४० वटा बिक्री भएको थियो । यद्यपि, गत अक्टोबरमै भने होन्डाले ४ लाख ६२ हजार ७४७ वटा बाइक तथा स्कुटर बिक्री गरेको छ । 

७६ प्रतिशतले बढ्यो बजाजको बिक्री, नोभेम्बरमा सवा २ लाख वटा बेच्यो 

बजाजले आफ्नो बिक्री बढाएको छ । गत वर्ष सन् २०२२ को नोभेम्बरमा कम्पनीले १ लाख २३ हजार ६५७ वटा बाइक तथा स्कुटर बिक्री गरेको कम्पनीले यो वर्षको सोही महिनामा भने ७६.७७ प्रतिशतले बढाएको हो । यो वर्षको नोभेम्बरमा भने कम्पनीका २ लाख १८ हजार ५९७ वटा बाइक तथा स्कुटर बिक्री भएका छन् ।

रोयल इन्फिल्ड र सुजुकीको भने लगभग बराबरी, टिभीएसको झन्डै ३ लाख बिक्री

नोभेम्बरमा रोयल इन्फिल्ड बाइक र सुजुकीले करिब बराबरी बिक्री गरेका छन् । नोभेम्बरमा रोयल इन्फिल्डले ७५ हजार १३७ वटा बाइक बेचेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भने १४.२५ प्रतिशतले बढी हो । गत वर्षको नोभेम्बरमा कम्पनीले ६५ हजार ७६० वटा बाइक बिक्री गरेको थियो । 

टिभीएसले भने झन्डै ३ लाख वटा बाइक तथा स्कुटर बिक्री गरेको छ । नोभेम्बरमा टीभीएसले २ लाख ८७ हजार १७ वटा बिक्री गरेको छ । गत वर्षको सोही महिनामा पनि कम्पनीले १ लाख ९१ हजार ७३० वटा बिक्री भएको थियो । 

यस्तै, नोभेम्बरमा सबैभन्दा कम भने सुजुकीको बिक्रीको छ । नोभेम्बरमा सुजुकीले ७३ हजार १३५ वटा बेचेको छ । गत वर्षको सोही महिनामा भने कम्पनीले ६३ हजार १५६ वटा बिक्री गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्