नाडा मेलामा ४ हजार हाराहारी गाडी बुकिङ, तर के सबै विक्री होला ?
काठमाडौँ । आयोजकले अनुमान गरेभन्दा धेरैले अवलोकन गरेको भनिएको यस वर्षको नाडा अटो शो मा ४ हजार हाराहारी संख्यामा प्यासेञ्जर कारहरु बुकिङ भएको कम्पनीहरुले जनाएका छन् । यस पालिको अटो शोमा नामी ईभी र टाटा पञ्च ईभीले सर्वाधिक लोकप्रियता हासिल गरेका छन् ।
यी गाडीहरु उल्लेख्य मात्रामा बुकिङ भएको कम्पनीहरुले जनाएका छन् । त्यसपछि बीवाईडी, सेरेस, नेटा, किङलोङ, दिपाल, हुण्डाई र स्काईवेल लगायतका गाडीमा धेरै आकर्षण देखिएको छ ।
अवलोकन कर्ताहरुले हेर्न त दिपाल, ज्यागुअर, कियाजस्ता महँगा र आकर्षक गाडी पनि खुब हेरेका थिए । तर तर बुकिङका हिसाबले भने ती गाडीहरु भन्दा सस्ता अर्थात् ३० देखि ५० लाखसम्म मूल्यका गाडी खरीद गर्न धेरैले चासो देखाएको पाईएको छ ।
यसले नेपालको उभ्रँदो मध्येमवर्गको संकेत गरेको छ । भलै यी गाडीको बुकिङ अनुसार विक्री पनि हुन्छ की हुँदैन भनेर अन्योल कायमै छ ।
गत साल पनि भदौ २६ देखि ३१ सम्म चलेको अटो शो मा १ हजारभन्दा धेरै गाडी बुकिङ भएको भनिएको थियो । तर निःशुल्क वा ५००–१००० रुपैयाँ तिरेर बुकिङ गरेका थुप्रै ग्राहकले पछि गाडी किन्नै आएनन् । नाडामा विभिन्न ‘अफर’हरु रहेका कारण मानिसहरु ‘भविष्यमा पैसा भयो भने किन्न हुन्छ’ भन्ने आशाले पनि गाडी बुकिङ गर्छन् ।
एउटै व्यक्तिले विभिन्न ब्राण्ड र मोडेलका गाडी पनि बुक गरेको हुनसक्ने व्यवसायी बताउँछन् । यी कारणले अहिलेको बुकिङ कुन हदसम्म ‘रियलाइज्ड’ हुन्छ भन्ने एकिन नभएको व्यवसायी बताउँछन् । भलै पोहोरजस्तो अन्दाधुन्ध बुकिङ गर्ने अवस्था यस पालि नदेखिएकाले यी बुकिङमध्ये ठूलो हिस्सा वास्तवमै विक्री हुने आशा उनीहरुको छ ।
अर्कातर्फ घरेलु अर्थतन्त्रको गतिशीलता बढ्न थालेको देखिएको छ । सेयर बजार, घरजग्गाजस्ता सम्पत्ती बजारहरु उकासिने प्रयासमा छन् । यी आधारमा पनि यो साल मानिसहरुसँग खर्चयोग्य पैसा बढ्ने संभावना धेरै छ । त्यस्तो अवस्थामा उनीहरुले गाडी चढ्ने रहरलाई आफ्नो ‘शीर्ष प्राथमिकता’मा पार्नसक्ने अनुमान अटो विक्रेताहरुको छ ।