इभी बजारको नयाँ खेलाडी डिपलले भित्र्यायो ‘लङ–रेञ्ज’ भेरियण्ट, अब चार्ज सकिने ‘टेन्सन साफ’

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन (ईभी) बजारमा ‘नयाँ खेलाडी’को रुपमा उदाएको डिपलको नयाँ भेरियण्ट काठमाडौँ आइपुगेको छ । डिपलको शानदार क्रसओभर एसयुभी ‘एस ०७’ को नयाँ भेरियण्ट नेपाल आइपुगेको उक्त ब्राण्डको आधिकारिक विक्रेता एमएडब्ल्यू बृद्धिले जनाएको छ ।
अमेरिकी ब्राण्ड टेस्लालाई ‘विस्थापित गर्न खोजेको’ भनिएको डिपलले नेपालमा आक्रामक बजार विस्तार गरिरहेको छ । छोटो समयमै काठमाडौँका सडकमा डिपलका ‘फराकिला’ गाडीहरु प्रसस्तै देखिन थालेका छन् । बढ्दो मागलाई धान्नमात्रै होइन, आफ्ना ग्राहकलाई नयाँ विकल्प प्रस्तुत गर्न पनि यो भेरियण्टले सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
‘एस ०७’को नयाँ भेरियण्टमा १६० किलोवाट क्षमताको मोटरपावर उपलब्ध छ । यसअघिको भेरियण्टमा ९९ किलोवाट क्षमताको मोटर पावर थियो । त्यस्तै, ब्याट्रि ब्याकअप पनि बढेर आएको छ । पहिलेको गाडीमा ६६.८ किलोवाट घण्टा (युनिट)को ब्याट्री रहेकोमा नयाँ गाडीमा ७९.९७ अर्थात् करीब ८० युनिटको ब्याट्री जडान गरिएको छ ।
यही कारण नयाँ गाडीको ‘रेञ्ज’ बढेर आएको छ । यस अघिको स्ट्याण्डर्ड भेरियण्टमा एक पल्ट फुल चार्ज गर्दा ५२० किलोमिटरको रेञ्ज दिने गरेको थियो । तर नयाँ फेरलिफ्ट भेरियण्टको गाडीले ६२० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यससँगै उक्त रेञ्जमा नेपाल भित्रिने दोस्रो प्यासेञ्जर भेहिकल डिपल बनेको छ । यसअघि सोही रेञ्जमा स्काईवेलले ‘ईटी फाइभ’ एसयुभी नेपाल भित्र्याएको थियो ।
डिपलको नयाँ गाडी हुवावेको ‘क्वीनकुन स्मार्ट ड्राइभिङ’ एडीएस–एसई अटोनोमस ड्राइभिङ सिस्टमसँग जोडिएको छ । जसलाई स्वचालित ड्राइभिङका निम्ति उपयोग गर्न मिल्छ । यो गाडीमा अन्य सबै फिचर्सहरु स्ट्याण्डर्ड भेरियण्टकै छन् ।
यसमा ‘रेञ्ज’ बढाइएका कारण अब नेपालमा लामो दूरीको यात्रा गर्दा पनि नयाँ गाडी उपयोगी हुने देखिएको छ । हाम्रो देशमा ठाउँटाउँमा पर्याप्त चार्जिङ स्टेशनहरु नहुनु र भएकै चार्जिङ स्टेशनहरुमा पनि बारम्बार बिजुली काटिने समस्याले ईभी ड्राइभिङमा मानसिक दावाब उत्पन्न गराउन थालेको गुनासा आइरहेका छन् ।
यस्तो अवस्थामा ६२० किलोमिटर रेञ्ज दिने गाडी आउँदा यात्रामा निर्धक्क भएर हिँड्न बल पुग्छ । यसले गाडी धनी वा चालकको तनाव खत्तम गर्न मद्दत गर्ने कम्पनीको विस्वास छ । यो गाडी बीचमा एक ठाउँमात्रै चार्ज गर्न पायो भने पुरै पूर्व—पश्चिम राजमार्ग यात्रा गर्न पुग्ने भएकाले चालकलाई ठूलो मानसिक तनावबाट जोगाउन मद्दत मिल्ने देखिन्छ ।