नेटाले अब सिंगापुरमा पनि प्रवेश पायो, चीन बाहिर बजार खोज्नमा आक्रामक

काठमाडौं । चिनियाँ स्टार्टअप अटोमेकर कम्पनी नेटाले अब एसियाको प्रिमियम बजारमध्ये एक सिंगापुरमा पनि आफ्ना गाडी बेच्ने भएको छ । नेपालजस्तै मध्य एशिया, दक्षिण पूर्व एशिया, ल्याटिन अमेरिका र दक्षिणी अफ्रीकाका कयौँ बजारमा प्रवेश गरिसकेको नेटा अब सिंगापुर छिरेको हो ।
चीनको आन्तरिक बजारमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको नेटा बाहिरी विश्वमा भने आफ्नो उपस्थितिलाई बलियो पार्दै लान सक्षम भएको छ । उसले थाइल्याण्ड र इन्डोनेशियामा कारखाना खोलेको छ । अब कम्पनी यूरोपेली एवम् अस्ट्रेलियाली बजारमा पनि प्रवेश गर्ने कोसिस गरिरहेको छ ।
यही ‘बाहिर फर्किने’ (अर्थात् चीनभन्दा बाहिरको बजारमा ध्यान दिने) कम्पनीको नयाँ नीति अनुसार सिंगापुरमा कम्पनीले पकड जमाउने कोसिस थालेको हो । गत बिहिबारबाट सुरु भएको ‘सिंगापुर मोटर शो’ मार्फत नेटाले आफ्ना कारहरु त्यहाँको बजारमा पनि बिक्री थालिसकेको घोषणा गरेको छ।
त्यहाँ कम्प्याक्ट एसयूभी नेटा एक्स र क्रसओभर ह्याचव्याक नेटा आया (भी) मोडलको बिक्री सुरु गरेको कम्पनीले जनाएको छ। मोटर शोको पहिलो दिन नै ५२ युनिट कार बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ ।
नेटाले सिंगापुरको एनईभी स्ट्याण्डर्ड अनुसार गुणस्तरको प्रमाण अर्थात् ‘सर्टिफिकेट’ पाइसकेको छ । त्यसैले कम्पनीले चाँडै अत्याधुनिक सुविधा सहितको शोरुम पनि संचालन गर्न लागेको जनाएको छ । अहिलेसम्म सिंगापुरमा नेटाको शोरूम छैन ।
चिनियाँ कार उत्पादक नेटाले २०२३ मा विश्वभर १,२७,४९६ गाडीहरू विक्र गरेको थियो । त्यसमध्ये २० हजारभन्दा बढी गाडीहरू अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको नेटाले जनाएको छ । तर सन् २०२४ को मध्येतिरबाट कम्पनीले आफ्नो विक्री आँकडा सार्वजनिक गर्न छाडेको थियो । त्यसैले उसका विक्री आँकडाहरु सार्वजनिक प्लेटफर्महरुमा उपलब्ध छैनन् ।
चीनमा अल्पकालिन वित्तीय समस्या भोगेपछि उक्त स्टार्टअप कम्पनीलाई लिएर संसारभर कयौँ भ्रामक सन्देशहरु पनि प्रवाह भएको थियो । गत साता (६ जनवरीमा) मात्रै पनि कम्पनीको वेवसाइट बन्द भएपछि अफवाहहरु फैलिएका थिए । तर कम्पनीले त्यसलाई तुरुन्त सच्याएर यस प्रकारका अफवाह फैलाउनेहरुविरुद्ध कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।
नेटाले आफ्नो कुल उत्पादनको कम्तिमा पनि ५० प्रतिशत कारहरु चीनभन्दा बाहिरको बजारमा बेच्ने लक्ष्य अघि सारेको छ । विगतको व्यवस्थापनले बजारको मागलाई होइन, आफ्नो निजी सोचलाई ज्यादा महत्व दिएर कारको डिजाइन तथा निर्माण गर्दा कम्पनीले व्यापारिक रफ्तार समात्न नसकेको बुझाइ तयार भएको भनेर चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । त्यसैले केही महिनाअघि कम्पनीको् प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पदबाट हटाएर सल्लाहकारको भूमिकामा राखिएको छ ।
यसपछि बजारको मागलाई हेरेर गाडी बनाउने प्रयासमा कम्पनी लागेको जनाइएको छ । विशेष गरी चीन बाहिरको बजारलाई लक्षित गरेर यस्ता गाडीहरु तयार गर्ने कोसिस अघि बढाइएको छ । यसले भविष्यमा बाहिरी बजारमा आफ्नो उपस्थिति बढाउँदै लान सघाउ पुग्ने अनुमान कम्पनीको छ ।
नेटाले सिंगापुरमा बेच्न लागेको दुबै मोडल नेपालमा पहिले नै विक्री भइसकेका हुन् । नेटा एक्स कम्प्याक्ट एसयूभी हो, जुन नेपालमा पहिलेदेखि नै विक्रीमा छ । नेटा आया चाहीँ नेपालमा बिक्री हुँदै आएको नेटा भीको परिमार्जित स्वरुप हो ।