नेपालमा पहिलो पटक इन्भेष्टमेण्ट मेगा बैंकले भित्र्यायो भिसा वेयरेबल स्टिकर « Arthapath.com
८ कार्तिक २०८१, बिहीबार

नेपालमा पहिलो पटक इन्भेष्टमेण्ट मेगा बैंकले भित्र्यायो भिसा वेयरेबल स्टिकर



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआइएमबि पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त वेयरेबल स्टिकर सार्वजनिक गरिएको हो । अब ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण टयाप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्नेछन् । यसले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकले ‘एनआइएमबि पेवियर’ कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बारे जानकारी गराइएको थियो । यसले ग्राहकहरूलाई भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्छ ।

‘एनआइएमबि पेवियर’ नेपालका लागि गेम–चेन्जर हो’, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका बरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले भने,‘यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ, उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ ।’

नेपालमा पहिलो पटक यस्तो प्रविधि भित्र्याउनँदा उत्साहित बनाएको उनको भनाई छ । जसले फेरि एकपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।

नवीनतम भुक्तानी समाधान र थप सुरक्षा

‘एनआइएमबि पेवियर’ ले ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ, जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउछ। ग्राहकहरूले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण टचाप गरेर छिटो र सुरक्षित दैनिक कारोवार गर्न सक्छन्।

नेपाल राष्ट्र बैंकका नियमहरूको पालना गर्दै, ५ हजार रुपैयाँ भन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिनको आवश्यकता पर्छ ।

प्रारम्भिक ग्राहकहरूका लागि विशेष प्रचार प्रस्ताव

कार्यक्रममा बैंकले एक विशेष प्रचार प्रस्ताव घोषणा गरेको छ । तीन महिनाभित्र ‘एनआइएमबि’ पेवियर स्टिकरको लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकहरूले सो अबधिमा १२ वटा पीओएस कारोबार पूरा गरेपछि आफ्नो वेयरेबल शुल्क (एक हजार रुपैयाँ) फिती पाउनेछन् । यो सीमित समयको प्रस्तावले ग्राहकहरूलाई यो नयाँ भुक्तानी विधिको अनुभव गर्न प्रेरित गर्दछ, साथसाथै शुल्क फितीको अतिरिक्त लाभ पनि प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकलाई बजारको अग्रणी स्थानमा पुर्याउने रणनीति

‘एनआइएमबि पेवियर’ को परिचयले बैंकलाई बजारको अग्रणी स्थानमा पुर्याउन दावी छ । बैंकलाई प्रविधि–प्रेमी ग्राहकहरूलाई आकर्षित गर्न र आफ्नो उत्पादन श्रृंखला विस्तार गर्न रणनीतिक कदम रहेको बैंकले जनाएको छ । यो आधुनिक भुक्तानी समाधानलाई अपनाएर, बैंकले आफूलाई प्रतिस्पधीहरू भन्दा फरक बनाउन र नेपालको बैंकिङ क्षेत्रमा उद्योगको अग्रणीको रूपमा आफ्नो स्थिति सुदृढ गर्ने लक्ष्य राखेको छ ।

नेपालको बैंकिङ क्षेत्रको अग्रणी इतिहास

एनआइएमबि लामो समयदेखि नेपालका बैंकिङ उद्योगमा नवप्रवर्तनको अगुवाइ गर्दै आएको छ । सन् २००३ मा बैंकले नेपालमा पहिलो पटक भिसा इलेक्ट्रोन डेबिट कार्ड जारी गरेको थियो । भिसा कन्सोर्टियम र राष्ट्रिय भुक्तानी नेटवर्क (एनपीएन) मार्फत कार्ड सेवाहरूलाई प्रवर्द्धन गर्दै आएको छ ।

हाल बैंकले नेपालभर ९ वटा भिसा एसोसिएट सदस्यहरू, १६ लाख कार्डहरू (जसमध्ये ६.५ लाख बैंकका विशेष कार्डहरू हुन्) सहितको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएको छ ।

बैंकले २७५ शाखा, २६५ एटीएम, र ४,००० भन्दा बढी पीओएस टर्मिनलहरू सञ्चालन गरिरहेको छ । बैंकले ६५ वटा विस्तार-राजस्व संकलन काउन्टरहरू र ७७ शाखाविहीन बैंकिङ आउटलेटहरू मार्फत सेवाहरू प्रदान गर्दै आएको छ, जसले ग्राहकहरूको पहुँचलाई देशभर फैलाएको छ ।

भिसा वेयरेबल स्टिकरको परिचयले बैंकिङ क्षेत्रमा नवीनतम प्रविधि ल्याउने बैंकको परम्परालाई निरन्तरता दिँदै ग्राहक अनुभवलाई अझ उत्कृष्ट वनाउँदैछ ।


प्रतिक्रिया दिनुहोस्