दुई वर्ष सेयरधनी निराश बनाएको हिमालयन बैंकले आगामी दिनमा आर्कषक लाभांश दिने प्रतिवद्धता

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । बैंकले यो वर्षका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन् ।
तर, गत आर्थिक वर्षको एकीकृत वित्तीय विवरण भने पारित गरेको छ । बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरेको छ । गत आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा संचालनमा ल्याईसकेको छ ।
तथापी आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचयकोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
बंैकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको छ ।
वर्तमान संकुचित आर्थिक परिवेशमा पनि बैंकले गत आर्थिक वर्षमा एक अर्ब २३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकले स्थापनाकालदेखि नै नियमितरुपमा आफना सेयरधनीहरुलाई बोनस सेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेको थियो । तर, पछिल्लो दुइ वर्ष भने सेयरधनीको हात रित्तो बनाएको छ ।
अघिल्लो वर्ष तथा यस वर्ष सो लाई निरन्तरता दिन नसकेकोमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले दुःख व्यक्त गरे । यद्यपि, आगमी दिनमा भने आकर्षक लाभांश दिने उनको प्रतिवद्धता छ । उनले कर्जा नोक्सानी व्यवस्था लगायत अन्य शिर्षकमा रकमान्तर भएको रकम फिर्ता गरी आगामी दिनमा पहिले जस्तै आकर्षक लाभांश दिने प्रतिवद्धता जनाए ।