तीन अर्ब २९ करोड मुद्धती खातामा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । सामाजिक सुरक्षा कोषले तीन अर्ब २९ करोड रुपैयाँ मुद्धती खातामा लगानी गर्ने भएको छ ।
यसका लागि कोषले इच्छुक बैंक तथा वित्तिय संस्थालाई आवेदनका लागि आग्रह समेत गरेको छ । कोषले आगामी असोज एक गते भित्रमा आवश्यक विवरण कोषमा बुझाउन बैंकहरुको लागि सुचना जारी गरेको छ ।
कोषले नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनत्तम चुक्त पूँजी पु¥याएको साथै न्यूनत्तम पूँजीकोष कायम गरेको बैंक हुनुपर्ने जनाएको छ ।
त्यस्तै, निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सिमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक बर्षमा कर्जा नोक्सानी व्यवस्था पछि सञ्चालन मुनाफामा रहेको बैंक हुनुपर्ने प्रावधान तोकेको छ ।
साथै आवेदक बैंकका बहालवाला सञ्चालक, कार्यकारी प्रमुख वा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकले कुनै पनि किसिमको आर्थिक जरिवाना नगरेको, शीघ्र सुधारात्मक कारवाही वा समस्याग्रस्त घोषणा गरेको भएमा सो कारवाही फुकुवा भएको कम्तिमा ६ महिना पुरा भएको बैंक हुनुपर्नेछ ।
सर्वसाधारणको लागि छुट्टयाइएको शेयर जारी गरी सकेको, प्रस्ताविक ब्याज दर र रकम शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने अन्तिम मितिले एक महिना अवधिसम्म घटाउन पाइने छैन ।














