महामारीको असर परेन बैंकमा, शुल्कबाटै २० अर्ब कमाई, एनआईसी, ग्लोबल, नबील, कृषि र प्राइम बैंकले शुल्कबाटै एक अर्ब बढी « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

महामारीको असर परेन बैंकमा, शुल्कबाटै २० अर्ब कमाई, एनआईसी, ग्लोबल, नबील, कृषि र प्राइम बैंकले शुल्कबाटै एक अर्ब बढी



काठमाडौं । कोरोना महामारीले उद्योग व्यवसाय निकै प्रभावित भको बेलामा पनि बैंकहरुको नाफा उल्लेख्य बढेको छ । त्यतिमात्रै होइन, राष्ट्र बैंकले विभिन्न सेवा शुल्क मिनाहा गर्ने नीतिगत व्यवस्था गरेको भए पनि यो वर्ष बैंकहरुले शुल्कबाटै करीब २० अर्ब आम्दानी गरेका छन् । यो रकम सबै बाणिज्य बैंकको खुद ब्याज आम्दानीको २० प्रतिशतभन्दा बढी हो ।

गतसाउनदेखि चैतसम्मको ९ महिनामा बैंकहरुको खुद ब्याज आम्दानी झण्डै ३३ अर्ब रुपैयाँ घटेको थियो । यही बीचमा अधिकांश बैंकको शुल्कबाट भएको आम्दानीभने बढेको छ । २७ बाणिज्य बैंकले १९ अर्ब ६४ करोड रुपैयाँ शुल्कबाट आम्दानी गरेका छन् । यसमध्ये एनआईसी एसिया, ग्लोबल आईएमई, नबील, कृषि विकास र प्राइम बैंकले शुल्कबाटै एक अर्ब रुपैयाँभन्दा ज्यादा कमाइ गरेका छन् ।

बैंकहरुले ग्राहकसँग एटीएम, मोबाइल र इण्टरनेट बैंकिङजस्ता सुविधादेखि अधिकांश सेवामा शुल्क लगाउँछन् । तर सबैभन्दा ठूलो शुल्क कमाइ गर्ने क्षेत्र चाहीँ ऋण दिँदा ऋणीसँग लिने सेवाशुल्क हो । राष्ट्र बैंकले विभिन्न नाममा सेवा शुल्क लिन नपाइने र ब्याजदर अन्तर (स्प्रेड) धेरै राख्न नपाइने भनेपछि अधिकांश बैंक सेवा शुल्कबाटै कमाइ बढाउने रणनीतिमा लागेका थिए ।

यो वर्ष सेवा शुल्कमा राष्ट्र बैंकले गरेको कडाइको असर पनि देखिएको छ । एनआईसी एसिया बैंकले गत वर्ष चैत मसान्तसम्म करीब १ अर्ब ८५ करोड शुल्क आम्दानी गरिसकेकोमा यो वर्ष १ अर्ब २७ करोडमात्रै भएको छ । यद्यपि, अहिले पनि एनआईसी नै सबैभन्दा धेरै बैंक सेवा शुल्क आम्दानी गर्ने बैंक बनेको छ ।

गत वर्षको तुलनामा कृषि विकास, नेपाल इन्भेष्टमेण्ट, एभरेस्ट, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकको शुल्क आम्दानी घटेको छ । यो वर्ष प्राइम बैंकले शुल्क आम्दानी पोहोरको तुलनामा ३५ करोडभन्दा धेरैले बढाएको छ । एनएमबी, प्रभु, ग्लोबल आईएमई, राष्ट्रिय बाणिज्य र नबील बैंकले पनि २० करोडभन्दा फराकिलो अंकमा शुल्क आम्दानी बढाएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्