आठ वर्षमा यसरी फेरियो बैंकको निक्षेप समीकरण, एनआईसी र ग्लोबलले मारे ठूलो फड्को « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

आठ वर्षमा यसरी फेरियो बैंकको निक्षेप समीकरण, एनआईसी र ग्लोबलले मारे ठूलो फड्को



काठमाडौं । बैंकको निक्षेप समीकरणमा चल्ति र बचत खाताको योगदान विशेष हुन्छ । मुद्दति निक्षेपमा बढी ब्याज तिर्नुपर्ने भएकाले बैंकहरु थोरै ब्याजमा धेरै पैसा चलाउने यस्तो बाटो खोज्छन् । यस्तो खाले निक्षेपलाई बैंकरहरु छोटकरीमा कासा (चल्ति एवम् बचत निक्षेप) भन्छन् । पछिल्ला वर्षमा अल्पकालिन समयका लागि ब्याज तिरेर राख्ने कल निक्षेप बैंकमा बढ्दै गएको छ । यस्तो निक्षेप पनि यही वर्गमा समेटिन्छ ।

बैंकको कुल निक्षेपका कासाको हिस्सा जति बढी हुन्छ, ती बैंकको आधारदर पनि त्यति नै कम पर्छ । यसले बैंकलाई बढी नाफा कमाउन र सस्तोमा ऋण दिन पनि सहयोग हुन्छ । प्रतिस्पर्धी बैंकिङ सेवाका लागि कासा निकै महत्वपूर्ण मानिने गरेको छ । यसमा पनि व्यक्तिगत बचत निक्षेपको धेरै हुनुको अर्थ त्यस्तो बैंकको सञ्चालन जोखिम पनि त्यति नै कम अर्थात् बैंक बलियो हुन्छ ।

नबील, नेपाल इन्भेष्टमेण्ट, स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय बाणिज्य बैंकजस्ता संस्थाको आधारदर कम हुनुमा कासाको योगदान ठूलो छ । यी बैंकले बचत खातामा निकै कम ब्याज दिएर पूँजी लागत घटाउने गरेका छन् । यल्पि, पछिल्ला वर्षमा नयाँ बैंकहरु यसखाले निक्षेप भारी बृद्धि गर्नमा सफल भएका छन् ।

केही वर्षयता निकै आक्रामक बैंकिङ अघि बढाएको एनआईसी एसिया बैंकले पछिल्लो ८ वर्षमा यसखाले निक्षेप करीब साढे ५ गुणा बढाएको छ । अहिले सरकारी खाता सञ्चालन गर्ने राष्ट्रिय बाणिज्य बैंकपछि सबैभन्दा धेरै कासा निक्षेप एनआईसीसँगै छ ।

झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्था गाभेर खडा भएको ग्लोबल आईएमई बैंकसँग पनि लगभग एनआईसीको हाराहारी कासा निक्षेप संकलन गरेको छ । दशकअघि सर्वाधिक कासा निक्षेप स्वीकार गर्ने नेपाल बैंक, हिमालयन, कृषि विकास, नबील, स्ट्याण्डर्डचार्टर्ड, एभरेस्ट र नेपाल इन्भेष्टमेण्टजस्ता संस्था अहिले पछाडी परेका छन् ।

नयाँ बैंकहरु एनआईसी र ग्लोबलबाहेक प्रभु, सनराइज र एनएमबीजस्ता बैंकले अहिले कासा निक्षेप बढाउँदै लगेका छन् । बैंकरहरु यस्ता निक्षेपलाई ‘चेकिङ अकाउण्ट’ (सन्तुलन खाता) भन्ने गर्छन् । बैंकको ब्याज आम्दानी र ब्याजखर्चमा ठूलो मार्जिन राखेर कर्मचारी पाल्ने, कार्यालय सञ्चालन गर्ने र लगानीकर्तालाई नाफा बाँड्न पैसाको जोहो गर्नेमा यस्तो खाताको विशेष महत्व हुने भएकाले नेपाल बैंकर्स संघले पनि यस्तो तथ्यांकमा बढी जोड दिने गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्