इन्भेष्टमेण्ट र हिमालयनको मर्जर समझदारीले प्रतिद्वन्दी बैंकहरु दबाबमा, नबिल, एभरेष्ट, एनआईसी र ग्लोबल बैंकले के रणनीति लेलान् ? « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

इन्भेष्टमेण्ट र हिमालयनको मर्जर समझदारीले प्रतिद्वन्दी बैंकहरु दबाबमा, नबिल, एभरेष्ट, एनआईसी र ग्लोबल बैंकले के रणनीति लेलान् ?



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंकबीच मर्जर समझदारी भएपछि बैंकिङ क्षेत्रमा ‘बीग मर्जर’को लहर आउनसक्ने अनुमान हुन थालेको छ । धेरै बैंकरहरु यो घटनाबाट नबिल, एभरेस्ट, एनआईसी एसिया र ग्लोबल आईएमईजस्ता प्रतिद्वन्द्वी बैंकहरु तत्कालै दबाबमा पर्नसक्ने बताउँछन् । नबील बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र पौड्यालको विचारमा पनि दुई बैंकबीचको मर्जरले अरु संस्थालाई सोच्न बाध्य बनाउने छ ।

यो समझदारीले नेपाली वित्तीय बजारमा नयाँ खाले संभावनाको ढोका खोलेको पौड्यालले बताए । कुनै न कुनै बैंकले यस्तो कदम चाल्नु नै थियो । त्यसमा यी दुई बैंकले अग्रसरता लिएको उनी बताउँछन् । उनले भने, ‘खासमा बाणिज्य बैंक भनेको ठूलै हुनुपर्छ । यसअघि २ अर्बबाट एकैपटक ८ अर्ब पूँजी पु¥याउँदा हाम्रो बैंकिङ प्रणालीले धेरै ठूलो लाभ पाएको छ ।’

पछिल्लो समय ठूला जलविद्युत् र अन्य पुर्वाधार आयोजनामा बैंकहरुले लगानी गर्न थालेका छन् । त्यसबेला बैंकको पूँजी नबढाएको भए यसरी अहिले ठूलो लगानी गर्ने हैसियत नै नबन्ने पौड्याल बताउँछन् । अझै पनि नेपाली बाणिज्य बैंकहरुको पूँजीगत आधार निकै कम भएको उनी बताउँछन् ।

हिमालयन र इन्भेष्टमेण्टको मर्जरसँगै नबीलले पनि ठूला संस्थाहरु किन्ने योजना अघि सारेको छ । ‘हाम्रो कुरा हुन थालेको २–३ महिनामात्रै भएको छ । अहिलेसम्म टुंगो लागेको त छैन,’ उनले भने, ‘तर चाँडै नै ठूलै सरप्राइज खबर आउने संभावना पनि छ ।’ नबीलले एनबी समुहद्वारा प्रबद्र्धित एनसीसी र नेपाल बंगलादेश बैंक खरीद गर्ने छलफल चलाएको खबरहरु केही समययता आइरहेका छन् ।

नबीलका मालिक विनोद चौधरी संसारभर सञ्चालनमा रहेका होटेल र अपार्टमेण्ट किन्दै हिँडेका छन् । उनलाई खरीद वाता (डिल) गर्ने राम्रो दक्षता छ । त्यही कारण बढी सम्पत्ती भएर पनि सही व्यवस्थापन गर्न नसेको एनसीसी उनको रोजाइमा पर्न सक्छ । अर्को तर्फ नबीलमा बंगलादेशको कम्पनीमार्फत् छद्म लगानी गरेका उनलाई बंगलादेश बैंक किनेर विदेशमै हिसाब फरफारक गर्न पनि सजिलो हुन सक्छ । नेपालमा यी दुबै बैंक एकै समूहले चलाएका कारण मोलमोलाइमा भिन्दाभिन्दै ‘पाटी’सँग वार्ता गर्नु पनि पर्दैन ।

पौड्यालले भने अहिलेसम्म कुनै पनि संस्थासँगको वार्ता निष्कर्शमा नपुगेको बताए । उनले कुनकुन संस्थासँग वार्ता भइरहेको भन्ने पनि खुलाएनन् । बरु नबीलमात्र नभइ सबै बाणिज्य बैंकलाई यो मर्जरले उत्प्रेरण दिने बताए । ‘हाम्रो पनि कोभीड १९ को महामारी नभएको भए अहिलेसम्म कुरा अघि बढिसक्ने थियो, यसले केही ढिला हुने भएको छ,’ उनले भने ।

यसअघि जति मर्जर भए, ती सबै समस्यामा परेर बाध्यात्मक मर्जरमा गएका थिए । किस्ट, ग्राण्ड, लुम्बिनी, जनताजस्ता बैंक समस्यायुक्त हुन थालेपछि मर्जरको बाटोबाट सुरक्षित अवतरण गर्ने प्रयत्न भएको थियो । मर्जरको बाध्यात्मक अवस्थामै पुग्दा पनि एनसीसी र कुमारीको मर्जर भाँडिएको थियो । सेञ्चुरी र सिभिल बैंक पनि अहिलेसम्म आफ्नै पहिचानमा अडिएका छन् ।

‘दुई वटा बलिया बैंकहरू आपसमा गाभिएको यो पहिलो घटना हो,’ पौड्याल भन्छन्, ‘यस घटनाले आफ्नो अस्तित्व जोगाउने ध्यानमा बसेका बाँकी बैंकलाई पनि मर्जरमा जान प्रेरित गर्छ ।’ अहिले पूँजी र कारोबारको आधारमा इन्भेष्टमेण्ट, हिमालयन र नबीलका साथै ग्लोबल आईएमई, एनआईसी एसिया लगायतका बैंक व्यवसायिक विस्तारमा निकै अग्रसर देखिन्छन् । अब यी संस्था पनि मर्जरको पहलमा लाग्नसक्ने बैंकरहरु बताउँदै आएका छन् ।

‘अब एनआईसी एसियाले पनि कुनै एउटा बाणिज्य बैंक गाभ्न सक्छ,’ अर्का एक बैंकर भन्छन्, ‘एनएमबी र सिद्धार्थजस्ता मध्येमस्तरका बैंकहरु पनि गाभिने संभावना बढेको छ ।’ पौड्याल पनि पछिल्लो मर्जर समझदारीले नेपाली बैंकिङ प्रणालीको मजबूती (रेसिलियन्सी) बढाउने ठूलो सहयोग पुग्ने बताउँछन् ।

यसअघि बैंकहरुको पूँजी बढाउन राष्ट्र बैंकले दिएको निर्देशन सजिलै पुरा गर्ने दुई संस्थाबीचको मर्जरले राम्रो सन्देश दिएको बैंकरको मत छ । ‘हामी आफैं ठूलो छौं, आफैं गर्न सक्छौं भन्ने बुझाइ धेरैमा थियो । हामीले आफ्नो पहिचान किन गुमाउने भन्ने सोचाइले पनि काम गरेको थियो’ पौड्याल भन्छन् । तर अब प्रतिस्पर्धामा उत्रिन ‘आफैं ठूलो’ भन्ने सोचले नधान्ने परिस्थिति बन्न थालेको छ । यसले ठूला प्रतिद्वन्द्वी संस्थामात्र होइन, साना र मध्येमखाले बैंकहरुलाई पनि आपसमा गाभिने दबाब बढ्नसक्ने बैंकरहरु बताउँछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्