बैंकको ४१ प्रतिशत ऋण ‘अपरिभाषित’ क्षेत्रमा, बजारमा पैसाको हाहाकार गराउने गरी कहाँ गइरहेको छ ऋण ? « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

बैंकको ४१ प्रतिशत ऋण ‘अपरिभाषित’ क्षेत्रमा, बजारमा पैसाको हाहाकार गराउने गरी कहाँ गइरहेको छ ऋण ?



काठमाडौं । बैंकहरुमा ऋण लगानी गर्ने पैसाको चरम अभाव सिर्जना भएको छ । तर यसरी हाहाकार निम्त्याउने गरी विस्तार भएको बैंकको ऋण कहाँ गइरहेको छ भन्ने विषय चाहीँ थप ‘रहस्यमय’ बन्दै गएको छ ।

पैसा अभाव भएपछि असोज १ गतेदेखि लागू हुनेगरी अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाइसकेका छन् । ठूला कर्जाको ब्याजदर पनि बढ्न थालिसकेको छ । नयाँ कर्जाका फाइल अघि बढाउँदा अहिलेलाई उच्च दरको प्रिमियम जोडेर बैंकहरुले ऋणको व्याजदर बढाउन थालेका छन् । साना ऋणीले लिएको ऋणको ब्याजदर १४–१५ प्रतिशत पुर्याइसकेका छन् ।

बैंकहरुलाई तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । अन्तरबैंक सापटी बढेको छ । बाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट भारी परिमाणमा पैसा लिन थालेका छन् । वित्तीय प्रणालीलाई यस्तो चपेटामा धकेल्नेगरी सिर्जना भएको तरलता अभावको कारण के हो ? तथ्यांक भन्छ, ‘कर्जा बढ्यो ।’ कोरोना महामारीपछि भारी मात्रामा कर्जा बढेको तथ्यांक आयो । तर त्यो ऋण कहाँ प्रयोग भइरहेको छ भन्ने कसैलाई थाहा छैन ।

बैंकरहरु नै भन्छन्, ‘कर्जा गएको छ । तर कहाँ गएको छ भन्ने देखिँदैन ।’ विकास निर्माणका गतिविधी खासै अघि बढेका छैनन् । नयाँ उद्योगधन्दा सुरु भएको छैन । थप रोजगारी सिर्जना भएका छैनन् । तर पैसा गइरहेको छ । यो अन्योलको स्वरुप बैंकरमात्र होइन, राष्ट्र बैंकका अधिकारीले पनि छर्लङ्ग हुने गरी पहिल्याउन सकेका छैनन् । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनुभन्दा पहिले नै राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कर्जा परिचालनको तथ्यांक जाँच गरेको थियो ।

त्यसबेला होटेल र कृषिका नाममा लिएको अधिकतर ऋण जग्गा किन्नमा र अरु थुप्रै शीर्षकमा लिएको कर्जा शेयर बजारमा लगानी भएको पाइएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । राष्ट्र बैंककै पछिल्लो तथ्यांकले पनि यस्तो अन्योलतालाई अझ बढाउँछ । उक्त तथ्यांकमा गएको साउनमा मात्रै ‘अन्य’ भन्ने शीर्षकमा १७ अर्ब ४१ करोड ऋण प्रवाह भएको देखिन्छ । जुन यस अवधिको कुल कर्जा प्रवाहको ४१ प्रतिशत हो ।

बाणिज्य बैंकहरुले झण्डै आधा ऋण ‘अपरिभाषित’ क्षेत्रमा लगानी गरेका छन् । जबकी, राष्ट्र बैंकले झण्डै आधा कर्जा लगानी त तोकिएको प्राथमिकताको क्षेत्रमा प्रवाह गर्नुपर्ने कानूनी व्यवस्था नै गरेको छ । बैंकहरुको यस्तो उल्टो कार्यशैलीले राष्ट्र बैंक पनि अन्योलमा परेको छ । यसले ‘हामी सबैभन्दा पारदर्शी क्षेत्र’ भन्ने दाबी गर्दै आएका बैंकहरुको पारदर्शीतामाथि प्रश्न उब्जाएको एक बैंकर बताउँछन् । उनले भने, ‘यो अन्य भनेको के हो ? बैंकहरुले कहाँ लगानी गरिरहेका छन् ?’

धेरैको अनुमानलाई मान्ने हो भने ‘अन्य’ शीर्षकमा प्रवाह भएको बैंकको ऋण प्रायः शेयर बजारमा लगानी भइरहेको छ । तर शेयरकै धितोमा शेयर किन्नका लागि प्रवाह हुने ‘मार्जिन’ कर्जाको आँकडा भने बैंकरहरुले चलाखिपूर्ण रुपमा घटाएका छन् । गत साउनसम्म उनीहरुले कुल कर्जाको २ प्रतिशत हाराहारी रकममात्रै मार्जिन कर्जाको शीर्षकमा प्रवाह गरेका छन् । धेरै ठूलो रकम चाहीँ ‘चोर बाटो’बाट लगानी गरेका छन् ।

केही दिनअघि व्यवस्थापिका संसदको अर्थ समितिमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले ‘शेयरमा बैंकहरुको लगानी २ प्रतिशत हाराहारीमात्रै भएको’ दाबी नै पेश गरेका थिए । तथ्यांकमा खासै चासो नराख्ने सांसदहरु त अलमल्ल परे । तर चोरबाटोबाट प्रवाह भएको ऋणको बारेमा चर्चा भएन । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कुनै पनि कम्पनी वा व्यक्तिले शेयर बजारमा लगानी गर्न १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन नपाउने भनेपछि यस्तो चोरबाटो पक्रने प्रबृत्ती झनै बढेको ती बैंकर बताउँछन् ।

कतिपयले भने कोरोना महामारी मत्थर हुँदै आएको र दशैं तथा तिहारजस्ता पर्व नजिकिन थालेका कारण नेपाली वित्तीय प्रणालीबाट पूँजी पलायन हुन थालेको बताएका छन् । चीन र भारतबाट हुने अन्तरराष्ट्रिय ब्यापारको भुक्तानी गर्न ठूलो मात्रामा गैरकानूनी भुक्तानी हुने भएकाले अहिले पूँजी पलायन हुन थालेको एक बैंकरले बताए । तर उक्त तर्कको स्वतन्त्र पुष्टि हुने पर्याप्त आधार भने खुलेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्