तरता अभावकाे लाभ यसरी पर्छ बैंकको नाफामा, तीन महिनामै सिद्धार्थ बैंकको नाफा झण्डै दोब्बर « Arthapath.com
१४ कार्तिक २०७८, आईतवार

तरता अभावकाे लाभ यसरी पर्छ बैंकको नाफामा, तीन महिनामै सिद्धार्थ बैंकको नाफा झण्डै दोब्बर



काठमाडौं । पछिल्लो समय तरलता अभाव भएपछि बैंकहरुले ऋणको ब्याज बढाउन थाले । आफ्ना निक्षेपकर्तालाई थेग्न सक्ने बैंकको नाफामा यसले निकै राम्रो टेवा दियो । उदाहरणका लागि सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा पोहोरभन्दा झण्डै दोब्बर नाफा बढाएको छ ।

बैंकले आइतबार वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा यो वर्ष आफ्नो खुद नाफा ८९ प्रतिशत बढेको बताएको छ । बैंकले गत साउनदेखि असोजसम्म ९४ करोड ८७ लाख ३१ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही समयमा केवल ५० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकोले नाफा बढेको हो । यो वर्ष बैंकको सञ्चालन नाफा गत सालभन्दा ८७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको नाफा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि बढोत्तरी भएको छ ।

गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९२ पैसा रहेकोमा चालू आवको सोही अवधिमा बढेर ३३ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको चुक्तापूँजी १० अर्ब ९६ करोड २२ लाख रहेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोषमा ८ अर्ब २ करोड ६७ लाख र रिटेण्ड अर्निङमा १ अर्ब ६३ करोड ४१ लाख सञ्चित रहेको छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ६६ गुणा, तरलता अनुपात २१ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्