सार्क क्षेत्र र देशभित्र डिजिटल मुद्राको कारोबार गर्न राष्ट्र बैंकले थाल्यो छुट्टाछुट्टै अध्ययन « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

सार्क क्षेत्र र देशभित्र डिजिटल मुद्राको कारोबार गर्न राष्ट्र बैंकले थाल्यो छुट्टाछुट्टै अध्ययन



काठमाडौं । दक्षिण एसिया र नेपालभित्र क्रिप्टोमुद्राको बैधानिक कारोबार शुरु गर्नेबारे अलग अलग समिति बनाएर अध्ययन थालिएको छ । नेपाल राष्ट्र बैंकले यस्ता दुई समिति बनाएर अध्ययन थालेको हो ।

‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)’ सम्बन्धी दक्षिण एसियाली क्षेत्रमा अहिलेसम्मको अवस्था र यसको भावि संभाव्यता एवम् व्यवहारिकतबाारे अध्ययन शुरु भएको हो । यसबारे सार्क फाइनान्स नेटवर्कभित्र संयुक्त रुपमा अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त नेटवर्कमा नेपाल राष्ट्र बैंकका साथसाथ बंगलादेश बैंक, सेण्ट्रल बैंक अफ श्रीलंका, दा अफगानिस्तान बैंक, माल्दीभ्स मनिटरी अथोरिटी, रिजर्भ बैंक अफ इण्डिया, रोयल मनिटरी अथोरिटी भुटान र स्टेट बैंक अफ पाकिस्तान आबद्ध छन् । उक्त नेटवर्कको बैठकमा नेपालका गभर्नर महाप्रसाद अधिकारीले क्षेत्रीय स्तरमा सीबीडीसी कार्यान्वयनबारे अध्ययन गर्ने प्रस्ताव गरेका थिए ।

केही महिना अघिको उक्त बैठकले गभर्नर अधिकारीको प्रस्ताव अनुमोदन गर्दै अध्ययन अघि बढाउने निर्णय गरेको थियो । त्यसपछि सबै मुलुकमा बेग्लाबेग्लै अध्ययन टोली गठन गरेर काम शुरु गरिएको हो ।

‘नेपाल राष्ट्र बैंकले नै प्रस्ताव गरेका कारण हामी लिड (नेतृत्वकर्ता) बैंक हौं । अरु केन्द्रिय बैंकबाट पनि त्यहाँका टीम आउँछन् । सबै मुलुकको सहकार्यमा अध्ययन भइरहेको छ’ नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा प्रकाशकुमार श्रेष्ठले भने । प्राविधिक अध्ययन गर्ने उक्त ‘कोअर्डिनेटिङ कमीटी’को नेतृत्व राष्ट्र बैंकका निर्देशक डा रामशरण खरेलले गरिरहेका छन् ।

कस्तो हुन सक्ला मोडालिटी ?

संसारमा क्षेत्रीय वा बहुपक्षीय मुद्राका रुपमा दुई किसिमका मुद्रा प्रचलनमा छन् । पहिलो अन्तरराष्ट्रिय मुद्रा कोषले जारी गरेको ‘स्पेशल ड्रइङ राइट (एसडीआर) हो । यो एक किसिमको अभौतिक मुद्रा हो, जसको प्रयोग अन्तरराष्ट्रिय भुक्तानी र सञ्चिति (रिजर्भ)का लागि हुन्छ ।

अर्को चाहीँ युरोपेली संघलेजस्तै क्षेत्रीय स्तरमा एकल मुद्रा प्रणाली लागू गर्ने हो । अहिले युरोपेली संघअन्तरगतका २७ मध्ये १९ मुलुकमा एकल मुद्रा लागू भएको छ । बेल्जियम, जर्मनी, आयरल्याण्ड, स्पेन, फ्रान्स, इटली, लक्जेम्बर्ग, द नेदरल्याण्ड्स, अस्ट्रिया, पोर्चुगल, फिनल्याण्ड, ग्रीस, स्लोभेनिया, साइप्रस, माल्टा, स्लोभाकिया, इस्टोनिया, लात्भिया र लिथुआनियाले एउटै मुद्रा ‘युरो’ चलाउँछन् ।

दक्षिण एसियामा पनि युरोजोनमा जस्तै एकल मुद्रा प्रणाली सञ्चालन गर्नेबारे दशक अघिदेखि चर्चा शुरु भएको थियो । जतिबेला क्रिप्टो मुद्राको उत्पत्ती नै भएको थिएन । भारत, नेपाल, भुटान, बंगलादेश र श्रीलंकामा यस्तो एकल मुद्रा प्रणाली लागू गर्ने बारे चर्चा भएको थियो । पाकिस्तान र भारतबीचको द्वीपक्षीय द्वन्द्वका कारण त्यहाँ एकल मुद्रा लागू गर्न कठनि हुने आँकलन त्यसबेला गरिएको थियो ।

सार्क मुलुकमा एकल मुद्रा प्रणाली लागू गर्ने यो नयाँ अवसर भएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउँदै आएका छन् । संसारभर नै डिजिटल मुद्रालाई भविष्यको सर्वमान्य मुद्राका रुपमा हेर्न थालिएको छ । यही कारण संसारभर केन्द्रिय बैंकले डिजिटल मुद्राका बारेमा अध्ययन थालिसकेका छन् ।

अनियन्त्रित मूल्यबृद्धिको दबाब खेपिरहेको ल्यटिन अमेरिकाको एक कम्युनिष्ट मुलुक भेनेजुएलाले सन् २०१८ को फेब्रुअरीमै ‘पेत्रो’ नामको डिजिटल मुद जारी गरेको थियो । एल साल्भाडोरले बिटक्वाइनलाई मुद्राको रुपमा स्वीकार गरिसकेको छ । त्यहाँ सम्पत्ती सञ्चय गर्न र भुक्तानी गर्न बिटक्वाइनको प्रयोग भइरहेको छ ।

फ्रान्स र सिंगापुरले संयुक्त रुपमा सीबीडीसीबारे एक मोडेल परीक्षण गरिसकेका छन् । पाराग्वे, अर्जेण्टिना, पानामा, ब्राजिल, निकारागुआ र मेक्सिकोजस्ता मुलुकले पनि डिजिटल मुद्राबारे गम्भीर रुपमा कदम अघि बढाएका छन् । छिमेकी चीनले त सन् २०२३ बाट सीबीडीसी कार्यान्वयनमै ल्याउने कदम अघि बढाएको छ ।

हाल संसारमा प्रचलित हेकी क्रिप्टो मुद्रा ।

अन्योलता चिर्न अध्ययन

अहिले सीबीडीसीका बारेमा भने कुनै त्यस्तो प्रस्ताव तयार भएको छैन । ‘अहिले कुनै पनि कुरा तय भएको छैन । कहाँ कुन स्तरमा र कसरी प्रयोग गर्न सकिन्छ वा सकिँदैन भन्ने पहिचान गर्नका लागि अध्ययन भइरहेको छ’, कार्यकारी निर्देशक डा श्रेष्ठले भने ।

राष्ट्र बैंकका कतिपय अधिकारीहरू सार्क क्षेत्रभित्र हुने वैदेशिक ब्यापारको भुक्तानीका लागिमात्रै पनि शुरुआति चरणमा यस्तो मुद्राको प्रयोग गर्न सकिने संभावना औंल्याउँछन् । क्षेत्रीय स्तरमा यस्तो व्यवस्था गर्न सके सार्कभित्र क्षेत्रीय ब्यापार अझ सुदृढ हुने आशा पनि धेरैले गरेका छन् ।

विश्व बैंकको अध्ययन अनुसार संसारभर बनेका क्षेत्रीय संघहरूमध्ये सबैभन्दा कमजोर ब्यापार साझेदारी नै दक्षिण एसियामा छ । यस्तो अवस्थामा नजिकको बजारलाई आपसमा अन्तरआद्ध गर्न एकल मुद्राले सहयोग गर्ने अपेक्षा धेरैको छ ।

देशभित्रका लागि अर्को उच्चस्तरीय समिति

यसबाहेक नेपाल भित्रको आन्तरिक बजारमा नगद पैसा र सिक्काजस्तै गरी राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्नसक्ने संभावनाका बारेमा पनि अध्ययन थालेको छ । यसका लागि मुद्रा व्यवस्थापनसमेत हेर्ने डेपुटी गभर्नर बमबहादुर मिश्रको संयोजकत्वमा उच्चस्तरीय समितिसमेत गठन भएको छ ।

यस समितिले मुलुकभित्र कसरी सीबीडीसीको कार्यान्वयन गर्न सकिन्छ भन्नेकारे अध्ययन र नीतिगत निर्णय गर्ने छ । यसका लागि अहिले हामीले मोबाइल बैंकिङ, वालेट वा क्युआरजस्ता विद्युतीय भुक्तानी प्रणालीको प्रयोग गरेजस्तै डिजिटल मुद्राबाट पनि आपसमा भुक्तानी गर्ने भरपर्दो तरिका बनाउनु पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्