यसरी हुँदैछ दोहोरो लगानी भएका लघुवित्तको मर्जर « Arthapath.com
१९ पुष २०७८, सोमबार

यसरी हुँदैछ दोहोरो लगानी भएका लघुवित्तको मर्जर



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाव बढाएको छ । लघुवित्तको संख्या घटाउनको लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था गरेको थियो ।

सोही बमोजिम १० प्रतिशत वा सो भन्दा माथि दोहोरो लगानी भएका लघुवित्त गाभ्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ‘क्रस होल्ड’ (दोहोरो लगानी) शेयर रहेका लघुवित्तलाई मर्जरमा जान बाध्य बनाएको हो । सोमबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले १० प्रतिशत वा सोभन्दा बढी दोहोरो लगानी भएका लघुवित्तलाई मर्जरको कार्य योजना २०७९ अषाढ मसान्तभित्र पेश गर्न निर्देशन दिएको हो ।

“इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ बर्गका एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका संस्थाहरुबीच एक आपसमा र वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न–गाभिन वा प्राप्तिमा जान असार मसान्तसम्म राष्ट्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्नेछ”, राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले लघुवित्तलाई मर्जरमा जानको लागि सहज व्यवस्था बनाएको बताउँछन् । एकीकृत निर्देशन स्पष्ट पार्दै ढकाल भन्छन्, “जस्तै एउटा लघुवित्त अथवा ‘ए’ भन्ने लघुवित्तको ३ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी लगानी रहेको छ भने त्यस्ता संस्थाहरु मर्जमा जानुपर्ने हुन्छ ।” उनले भने “त्यस्तै, दुई वा दुई भन्दा बढी ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाको कुनै एउटा लघुवित्त तथा वित्तीय संस्थामा ५१ प्रतिशत भन्दा माथि लगानी (कसैको २ प्रतिशत, कसैको ५ प्रतिशत, कसैको १० प्रतिशत गरेर ५१ पुग्छ छ भने) रहेको छ भने त्यस्ता संस्था मर्जरमा जानुपर्छ । यस्तो गर्दा २४–२५ वटा वा सो भन्दा कम बढी छन भने ती संस्थाहरु जो–जसंग पनि मर्ज हुन सक्छन् । यसले अप्सन खुला गरेका छ ।”

राष्ट्र बैंकका अनुसार कुल १६ वटा लघुवित्तमा एउटै बैंक तथा वित्त कम्पनीको १० प्रतिशतभन्दा बढी लगानी भने ८ वटा लघुवित्तमा सम्पुर्ण बैंक तथा वित्त कम्पनीको गरी कुल ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


प्रतिक्रिया दिनुहोस्