आफैले जन्माएको हिमालयन बैंकबाट मर्जरमा धोकापछि पृथ्वी पाँडेले भने ‘केही समयमै अर्को संस्था लिन्छौँ’ « Arthapath.com
२ माघ २०७८, आईतवार

आफैले जन्माएको हिमालयन बैंकबाट मर्जरमा धोकापछि पृथ्वी पाँडेले भने ‘केही समयमै अर्को संस्था लिन्छौँ’



काठमाडौँ । शुक्रवार अप्रत्याशित रूपमा हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कको मर्जर भाँडिएको छ । सरकारको समेत अप्रत्यक्ष लगानी रहेको हिमालयन बैङ्कमा कर्मचारी सञ्चय कोषले नो भोट गरेपछि मर्जर भाँडिएको हो । 

सरकारको स्वामित्वमा रहेको कर्मचारी सञ्चय कोषका एक कर्मचारीले हिमालयन बैङ्कको एजिएममा आएर डिडिए लगायतका विषयमा प्रश्न उठाएर मर्जर भाँडेको हो । बैसाख ३० गते एमओयू गरेका यी ठुला दुई वित्तीय संस्थाको मर्जर भाँडिएपछि बजारमा छुट्टै सन्देश प्रवाह भएको छ । 

‘हामी छिट्टै अर्को बैङ्क वा वित्तीय संस्था मर्ज गर्ने सोचमा छौं’ इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडेले भने । नौ महिनाको प्रयास सरकार नै लागेर रोकेपछि नेपालमा मर्जर त्यति सहज नभएको पाँडेले बताए । अर्थपथसंग आइतबार कुरा गर्दै अध्यक्ष पाँडेले भने एजिएममा आएर एउटा संस्थाको प्रतिनिधिले कर छुटका कुरा र डिडिए बारे प्रश्न उठाउन नमिल्ने बताए ।

मर्जरको लागी नेपाल इन्भेस्टमेन्ट बैङ्क सँधैं तयार रहेको भन्दै पाँडेले भने मैले नै जन्माएको संस्थाले आज धोका दियो । ३ दशकअघि पाँडेकै अग्रसरतामा हिमालयन बैङ्क खुलेको थियो । पछि पाँडेले आफ्नो सेयर प्रचण्डमान श्रेष्ठ र मनोज बहादुर श्रेष्ठलाई बेचेर बाहिरिएका थिए । 

हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कको बहुप्रतिक्षीत मर्जरको च्याप्टर क्लोज भएको छ । मर्जर हुन नदिन अर्थमन्त्री जनार्दन शर्मा नै लागेका थिए । मन्त्री शर्माले कर्मचारी सञ्चय कोषको प्रशासक तुलसीप्रसाद गौतमलाई हटाएर कोषबाट प्रतिनिधि जितेन्द्र धिताललाई हिमालयन बैङ्कको सञ्चालक बनाएका थिए । गौतम मर्जर गराउने पक्षमा थिए । 

माओवादी नेताहरूसँग राम्रो उठबस रहेका मनोजबहादुर श्रेष्ठ र उनका भाइ प्रचण्डमान श्रेष्ठ बैङ्कको अध्यक्ष बनेसङै मर्जरमा खटपट सुरु भएको थियो । बैङ्क सञ्चालक समितिले पास गरेको मर्जर साधारण सभाले फेल गरेको छ । 


प्रतिक्रिया दिनुहोस्