छिमेक लघुवित्तको नाफा ७१ करोड ७१ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ७१ करोड ७१ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा २४.९९ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ५७ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चैतमसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा भने सुधार आएको छ । गत आर्थिक वर्षको सो अवधिमा १ अर्ब ५२ करोड ६९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उक्त आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
यस वर्ष ऋण तथा अन्य नोक्सानी व्यवस्थाका लागि २१ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएपछि सञ्चालन नाफा १९.५१ प्रतिशत ले घटेर १ अर्ब १२ करोड रुपैयाँमा आएको छ । सोहि कारण खुद नाफामा प्रभावित हुन पुगेको हो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ, जगेडा १.४१ प्रतिशतले बढेर २ अर्ब ४० लाख ४३ हजार रुपैयाँ, सापटी १२.२७ प्रतिशतले घटेर ५ अर्ब ४५ करोड ४४ लाख ८० हजार रुपैयाँ, निक्षेप १४.९५ प्रतिशतले बढेर २५ अर्ब ७९ करोड ३२ लाख ६५ हजार रुपैयाँ र कर्जा २९.३८ प्रतिशतले बढेर ३२ अर्ब २० करोड १२ लाख ६५ रुपैयाँ आर्जन गरेको छ ।
तेस्रो त्रैमाससम्मको अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ६८ पैसा छ ।