अषाढ २० भित्रै नबिल र एनबि बैंकको एकीकृत कारोबारको तयारी, अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा पत्र « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

अषाढ २० भित्रै नबिल र एनबि बैंकको एकीकृत कारोबारको तयारी, अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा पत्र



काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेड (एनबि) को विशेष साधारण सभा सम्पन्न भईसकेको छ । दुवै बैंकको विशेष साधारण सभाले एक्विजेशन तथा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् ।

नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई स्वीकृति प्रदान गरेको हो ।

विशेष साधारण सभाले एक्विजेशन गर्ने प्रस्ताव पारित गरेसँगै राष्ट्र बैंकको अन्तिम स्वीकृतिका लागि पत्र पठाउने तयारी गरिएको छ । साथै केही दिनभित्रमा एकीकृत कारोबार गर्ने बारे सूचना जारी गर्ने तयारी बैंकको रहेको छ ।

मर्जर कमिटिले चालु आर्थिक बर्षभित्रै एकीकृत कारोबार गर्ने गरी गृहकार्य जारी राखेको नबिल बैंकका डीजीएम मनोज ज्ञवालीले जानकारी दिए । डीजीएम ज्ञवालीले भने, ‘जुलाई ४ तारिख अर्थात अषाढ २० गतेभित्र एकीकृत कारोबार गर्ने तार्गेट छ । विशेष साधारण सभाको प्रतिवेदन र अन्तिम स्वीकृका लागि राष्ट्र बैंकमा आज पत्र पठाइनेछ ।’ राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार गर्ने ज्ञवालीले बताए ।

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न गत फागुन ३० गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो भने गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ, कर्जा रकम ३०९ अर्ब रुपैयाँ र निक्षेप रकम ३२० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्