खराब कर्जा बढे पनि बैंकको नाफा पोहोरभन्दा ६% बढ्यो, औसतमै २१% भन्दा धेरै प्रतिफल पाउने सम्भावना

काठमाडौं । बैंकमा लगानी योग्य पैसाको अभाव, महँगी र उच्च ब्याजदरको असर देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको निष्कृय कर्जा बढेको छ ।
सञ्चालनमा रहेका २६ मध्ये २४ बाणिज्य बैैंकको खराब कर्जा बढेको हो । नेपाल इन्भेष्टमेण्ट बैंकले यस्तो कर्जा घटाएको छ भने सेञ्चुरीले स्थिर राख्न सकेको छ । यसबाहेक सबै बैंक कर्जाको गुणस्तर खस्किएको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार ऋण तिर्नुपर्ने म्याद नाघेको ३ महिनासम्म पनि पैसा आएन भने बैंकले त्यस्तो कर्जालाई निष्कृय कर्जामा वर्गिकरण गर्नुपर्छ । खराब कर्जा बढेको र कर्जा विस्तार गर्ने क्षमता एक वर्षदेखि अवरुद्ध रहेका कारण बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतमात्रै बढेको देखिएको छ ।
२६ बैंकले यत साउनदेखि असोजसम्म कुल १८ अर्ब ७५ करोड नाफा आर्जन गरेका छन् । गत साल यही अवधिमा बैंकको नाफा १७ अर्ब ७० करोड थियो ।
बैंकहरुले आफ्नो सामथ्र्यले भ्याएसम्म ऋण दिएको र उनीहरुले राख्ने मार्जिन पनि अत्यधिक छ । तर थप निक्षेप प्राप्त गर्न नसकेका कारण बैंकहरु कर्जा बढाउने अवस्थामा छैनन् ।
व्यवसाय बढ्न नसकेपछि मार्जिनमात्रे बढाएर धेरै नाफा हुँदैन । यही परिणाम अहिले बैंकहरुले भोगेका छन् । अर्थतन्त्र समस्यामा परेका बेला बैंकहरुले बढी नाफा लिएर ब्याजदर बढाएको भन्दै निजी क्षेत्रका प्रतिनिधीले प्रचारबाजी मच्चाइरहेका बेला बैंकहरुको अवस्था झनै पीडादायी देखिएको हो ।
अघिल्ला पटक यसरी तरलता अभाव हुँदा बैंकले अनेक बहानामा कमजोर ऋणीमाथि लुट मच्चाएका थिए । अर्बपति ब्यापारीहरुलाई सस्तोमा कर्जा दिने, साना ऋणीलाई महँगो ब्याज र प्रिमियम तथा सेवा शुल्कहरु थोपरेर कंगाल पार्ने मेसो चलेको थियो ।
चौतर्फी आलोचना भएपछि अहिले राष्ट्र बैंकले नै कतिपय नियामकीय अंकुश लगाएर बैंकहरुलाई असमान व्यवहार गर्न धेरै हदसम्म रोकेपछि अहिले ठूला ब्यापारीले बैंकको बाक्लो आलोचना गरिरहेका छन् । यसरी भएको आलोचनाको बीच बैंकहरुले ब्यापक नाफा बढाउन सकेको देखिँदैन ।
तथापि, ४२ खर्ब कर्जा लगानी गरेर ३ महिनामा पौने १९ अर्ब कमाउनु भनेको ठूलै नाफा हो । कर्जाको १.८ प्रतिशत नाफाले बैंकहरुलाई यसअघिका वर्षभन्दा बढी प्रतिफल दिनसक्छ ।
गत असार मसान्तमा २६ बाणिज्य बैंकहरुको कुल चुक्ता पूँजी ३ खर्ब ५६ अर्ब ९ करोड ५५ लाख रहेको राष्ट्र बैंकले जनाएको छ । यस आधारमा हेर्ने हो भने हालको नाफाले बैंकहरुलाई औसतमा वार्षिक २१ प्रतिशत प्रतिफल दिनसक्ने देखिएको छ । तर यसका लागि निष्कृय कर्जालाई स्वभाविक स्तरमै राख्न भने सक्नु पर्छ ।