दैनिक तरलता सुविधा लिने बैंक तथा वित्तीय संस्थालाई शर्तै शर्त, के–के थपिए नयाँ ? « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

दैनिक तरलता सुविधा लिने बैंक तथा वित्तीय संस्थालाई शर्तै शर्त, के–के थपिए नयाँ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा प्रयोग गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई थप शर्तहरु तोकेको छ । राष्ट्र बैंकले आइतबार दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधिको दोस्रो संशोधन गर्दै थप शर्तहरु तेर्साएको हो ।

संस्थाले उपयोग गरेको सुविधा रकम सोही दिन राफसाफ हुन नसकेमा प्रचलित बैंकदरमा ओभरनाइट तरलता सुविधाका रुपमा उपलब्ध गराइने शर्त तोकिएको छ । यस्तो सुविधा चालु कार्यदिनको आर.टि.जि.एस. आइएलएफ रिर्टन पिरियड भित्र राफसाफ गर्नुपर्ने नयाँ शर्त रहेको छ ।

संस्थाले चालु कार्यदिनको आर.टि.जि.एस. आइएलएफ रिर्टन पिरियड भित्र धितो व्यवस्थापन खाता पूर्ण सीमामा ल्याउन नसकेमा धितो व्यवस्थापन खाताको कुल सीमाबाट अघिल्लो कार्यदिन उपयोग भएको ओभरनाइट सुविधा कट्टा गरीने छ । साथै, बाँकी हुन आएको रकमसम्ममा बैंकदरमा र सोभन्दा बढी तर धितो व्यवस्थापन खाताको सीमासम्मको ओभरनाइट सुविधामा बैंक दरमा १ प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइने राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, लगातार तीन कार्यदिनसम्म धितो व्यवस्थापन खाता पूर्ण सीमामा ल्याउन नसकेमा चौथो कार्यदिनको १२ बजेभित्र बक्यौता रकम नगदै भुक्तानी गर्नुपर्ने शर्त तोकिएको छ । अन्यथा सो बक्यौता रकमलाई ९० प्रतिशत बराबर मानी सोको आधारमा १०० प्रतिशत बराबरको थप सुरक्षणपत्र धरौटी राख्नुपर्नेछ नयाँ शर्त तोकिएको छ । साथै, उक्त बक्यौता रकम भुक्तानी नभएसम्म यस्तो रकममा बैंक दरमा १ प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार लगातार तीन कार्यदिनसम्म धितो व्यवस्थापन खाता पूर्ण सीमामा ल्याउन नसकेमा धितो व्यवस्थापन खाताको कुल सीमाबाट तेस्रो कार्यदिनको आर.टि.जि.एस. आइएलएफ रिर्टन्स पिरियडमा कायम हुन आएको बक्यौता रकम घटाई बाँकी हुन आउने रकमसम्ममा मात्र धितो व्यवस्थापन खाताको सीमा कायम गरिने भएको हो ।

यस्तै, धितो राखिएको सुरक्षणपत्र प्रथम पक्षको सहमतिमा परिवर्तन वा थपघट समेत गर्न सकिनेछ व्यवस्थालाई यथावत राखिएको छ । सोही आधारमा दैनिक तरलता सुविधाको नयाँ सीमा कायम हुनेछ । यद्यपि, एकपटक कायम भएको सुविधा सीमा सोही त्रैमासमा परिवर्तन नहुने गरि नयाँ शर्त तोकिएको छ ।

यो सुविधाबापत धितोको रुपमा राखिएको सुरक्षणपत्र रोक्का फुकुवा नभएसम्म बिक्री गर्न नपाउने शर्त यथावत राखिएको छ । साथै, अन्य कुनै पनि प्रयोजनमा दोहोरो धितो सुरक्षण राख्न पाइने छैन । यद्यपि, दैनिक तरलता सुविधा ओभरनाइट तरलता सुविधामा रुपान्तरण भएको अवस्थामा सो रकम बराबरको सुरक्षणपत्र संस्थाले बैंकको नियमानुसार कायम गर्नुपर्ने बैधानिक तरलता अनुपात र खुद तरलतामा गणना गर्न नपाउने नयाँ शर्त थपिएको छ ।

राष्ट्र बैंकका अनुसार ओभरनाइट तरलता सुविधावापत उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फछ्र्यौट नभएमा सो रकम भुक्तान नभएसम्म ब्याज गणना गरिने शर्त पनि थपिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्