बैंकिङ्ग क्षेत्रको निक्षेप पहिलो पटक ५४ खर्ब १० अर्ब पुग्यो, सीडी रेसीयोमा पनि क्रमिक सुधार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब १० अर्ब रुपैयाँ पुगेको हो ।
नेपाल बैंकिङ्ग क्षेत्रको निक्षेप पहिलो पटक ५४ खर्ब १० अर्ब पुगेको हो । यसका साथै यो हालसम्मै उच्च पनि हो । पछिल्लो साता बैंकहरुको निक्षेप ५४ खर्ब रुपैयाँ भन्दा माथि नै देखिएको छ ।
सो अवधिमा वाणिज्य बैंकहरुको मात्रै कुल ४७ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत चैत ११ गतेसम्मको तथ्याङ्कमा वाणिज्य बैंकहरुको निक्षेप ४७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो । तर, त्यसको भोलिपल्ट नै अर्थात चैत १२ गते भने ४ अर्ब रुपैयाँले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढेता पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ । सो अवधिमा १ अर्ब रुपैयाँले मात्रै कर्जा लगानी बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५८ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । यता, वाणिज्य बैंकहरुको मात्रै कर्जा लगानी भने ४७ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको हो ।
यस्तै, हाल बैंक तथा वित्तिय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ८५.६३ प्रतिशत रहेको छ । बैंक तथा वित्तिय संस्थाहरुले सीडी रेसियो अधिक्तम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।