एनएमबि बैंकका सेयरधनीको १० वर्षपछि हात खाली, २० वर्षे लाभांश इतिहासमा तीन पटक बाँडेन

काठमाडौं । एनएमबि बैङ्कले १० वर्षपछि सेयरधनीको हात खाली बनाएको छ । मङ्सिर १३ गते बुधवार बसेको बैङ्क सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो ।
बैङ्कले गत आवको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने भएको छ । यसअघि अर्थात् आर्थिक वर्ष २०६८/६९ मा पनि बैङ्कले लाभांश वितरण गरेको थिएन । त्यसपछि लगातार सेयरधनीलाई निराश नबनाएको बैङ्कले गत आवको मुनाफाबाट पनि लाभांश नदिने भएको हो । १० वर्षको अवधिमा बैङ्कले आफ्ना सेयरधनीलाई ८ प्रतिशतदेखि ३० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।
यो वर्ष पनि बैङ्कले पनि यो वर्ष ८.१७ प्रतिशत लाभांश बाँड्ने सामर्थ्य बनाएको थियो । गत आवमा बैङ्कले १ अर्ब ५० करोड १८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैङ्कको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । तर, वितरणयोग्य नाफा सञ्चित गर्ने भन्दै सेयरधनीको हात खाली बनाएको हो । बैङ्कले अघिल्लो आवको मुनाफाबाट पनि गत वर्ष ८.२५ प्रतिशत नगद लाभांश मात्रै बाँडेको थियो ।
बैङ्कको २० वर्षे लाभांश इतिहासमा भने तीन पटक मात्रै सेयरधनीको हात रित्तो बनाएको छ । बैङ्कले आव २०६५/६६ मा पनि लाभांश वितरण गरेको थिएन । त्यसपछि आव २०६८/६९ र गत २०७९/८० गरी जम्मा तीन पटक मात्रै सेयरधनीको हात खाली बनाएको हो । बैङ्कको लाभांश इतिहासमा आव २०६०/६१ मा पनि ३० प्रतिशत नगद लाभांश बाडेको थियो । त्यसपछिको आव २०६१/६२ मा ३१.५८ प्रतिशत बोनस दिएको थियो । यो नै हालसम्मको उच्च लाभांश हो ।
अन्य कुन वर्ष कति लाभांश बाँड्यो ?
