पहिलो चौमासिकमै बैङ्कहरूले दिए सेयर धितोमा साढे ६३ अर्ब कर्जा, नबिलको सबैभन्दा धेरै, अन्य कुनको कति ?
काठमाडौं । वाणिज्य बैङ्कहरूले चार महिनामै साढे ६३ अर्ब रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैङ्कले सेयर धितोमा ६३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
लगानीकर्ताले बैङ्क तथा वित्तीय संस्थाबाट हाल १५ करोडसम्म व्यक्तिगत रूपमा कर्जा लिन पाउने व्यवस्था छ । नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जा लिँदा व्यक्तिगत रूपमा कुनै एक बैङ्क तथा वित्तीय संस्था वा समग्र बैङ्क तथा वित्तीय संस्थाबाट १५ करोडसम्म लिन सकिने व्यवस्था गरेको छ । यता, संस्थागत सेयर धितो कर्जाको सीमा भने अधिकतम २० करोड रुपैयाँसम्मको व्यवस्था छ ।
यस्तै संस्थागत रूपमा सेयर धितोमा अधिकतम २० करोडसम्म कर्जा लिन सकिने व्यवस्था छ । केन्द्रीय बैङ्कले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएर १२५ प्रतिशतमा झारेको छ । यसअघि भने सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत घटाएको हो ।
चालु आवको पहिलो चौमासिकमा सञ्चालनमा रहेकामध्ये १९ वटा बैंकहले मात्र सेयर धितोमा कर्जा लगानी गरेका छन् । तर, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले भने सो शीर्षकमा कर्जा लगानी गरेको छैन ।
चालु आवको पहिलो चौमासिकमा सबैभन्दा धेरै सेयर कर्जा दिनेमा नबिल बैङ्क शीर्षस्थानमा छ । चार महिनामा नबिलले सेयर धितोमा १० अर्ब ९४ करोड ६३ लाख रुपैयाँ कर्जा दिएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमईले भने चार महिनामा जम्मा ६ अर्ब २९ करोड ९३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको देखिन्छ ।
समीक्षा अवधिमा चार वटा बैङ्कको सेयर धितोमा कर्जा प्रवाह भने ४ अर्ब माथि नै छ । कात्तिक मसान्तसम्ममा एनआईसी एशिया, नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र प्राइम बैङ्कले ४ अर्बभन्दा माथि सेयर धितो कर्जा प्रवाह गरेका छन् । समीक्षा अवधिमा यी बैङ्कहरूले क्रमशः ४ अर्ब ६४ करोड ४४ लाख, ४ अर्ब ४५ करोड ३७ लाख, ४ अर्ब २६ करोड ३६ लाख र ४ अर्ब १२ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।
समीक्षा अवधिमा सबैभन्दा कम कर्जा भने नेपाल एसबिआईको देखिएको छ । बैङ्कले चार महिनामा २ करोड ३९ लाख रुपैयाँ मात्रै सेयर धितोमा कर्जा प्रवाह गरेको देखिन्छ ।
यस्तै, चालु आवको पहिलो चौमासिकमा सिद्धार्थ बैङ्कले ३ अर्ब ९६ करोड ५२ लाख, सिटिजनले ३ अर्ब ९१ करोड, कुमारीले ३ अर्ब ७७ करोड ५६ लाख, प्रभुले ३ अर्ब ३६ करोड ६५ करोड ४१ लाख र लक्ष्मी सनराइजले ३ अर्ब २८ करोड ४४ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।
यता, हिमालयन बैङ्कले २ अर्ब ५२ करोड ३४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले २ अर्ब ४० करोड ८१ लाख, एभरेष्टले १ अर्ब ३६ करोड, सानिमाले १ अर्ब २२ करोड ३३ लाख, एनएमबिले १ अर्ब ६ करोड ४६ लाख र माछापुच्छ्रे बैङ्कले ४९ करोड ८४ लाख रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका छन् ।