नाफामा नबिललाई नै ‘नम्बर वान’ को ताजः दोब्बर बढ्यो कृषि विकासको नाफा, प्राइम र एभरेष्ट तगडा

काठमाडौं । ११ महिनामा वाणिज्य बैंकहरुले साढे ५६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा २० वटा वाणिज्य बैंकहरुले ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । तर, यो नाफा गत आवको सोही अवधिमा भने १६.०३ प्रतिशत कमी हो । गत आवको साउनदेखि जेठसम्ममा भने बैंकहरुको नाफा ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा ६ वटा बाहेकका बैंकको नाफा घटेको छ ।
चालु आवको जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले बढाएको छ । समिक्षा अवधिमा कृषि विकास बैंकको नाफा ९३.४१ प्रतिशत बढेर ३ अर्ब २ करोड ४८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ मात्रै रहेको थियो ।
यस्तै, नाफा बढाउन प्राइम र एभरेष्ट बैंक पनि अघि देखिएको छ । समिक्षा अवधिमा प्राइम बैंकको नाफा १०.५३ प्रतिशत बढेर ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यस्तै, एभरेष्टको नाफा पनि ८.०५ प्रतिशत बढेर ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ कायम भएको छ। गत वर्षको सोही अवधिमा प्राइम र एभरेष्टले क्रमशः ३ अर्ब २१ करोड ६४ लाख र एभरेष्टले ३ अर्ब ६ करोड ६२ लाख रुपैयाँ नाफा गरेका थिए ।
यता, प्रभु बैंकले ४.८० प्रीतशत सिटिजन बैंकले ४.५४ प्रतिशत र सिद्धार्थ बैंकले २ प्रतिशत बढाएका छन् । चालु आवको ११ महिनामा यी बैंकहरुले क्रमशः ३ अर्ब ३ करोड ४२ लाख, १ अर्ब ७५ करोड ६७ लाख र २ अर्ब २७ करोड रुपैयाा नाफा कमाएका छन् ।
समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेपाल बैंकको ६५ प्रतिशत घटेर १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । यता, एनआइसी एशियाको नाफा पनि ५१.७३ प्रतिशत घटेर २ अर्ब २३ करोड ५३ लाख र कुमारी बैंकको ३१.४० प्रतिशत घटेर १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।
नाफामा नबिललाई नै ‘नम्बर वान’को ताज, ग्लोबल आइएमईलाई पच्छ्याउँदै एनआइएमबि
गत वर्षको तुलनामा नबिल बैंकको नाफा घटेपनि नम्वार वानको ताज भने कायमै छ । समिक्षा अवधिमा नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ। ११ महिनामा नबिलले ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको सोही अवधिमा पनि बैंकले ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफाको आधारमा दोस्रो स्थानमा भने ग्लोबल आइएमई बैंक छ । ११ महिनामा ग्लोबल आइएमईले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो गत आवको जेठ मसान्तसम्मको तुलनामा भने २१.७६ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले ६ अर्ब ५० करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा स्ट्याण्र्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड ९० लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७७ करोड ६३ लाख, हिमालयनले २ अर्ब ७६ करोड ६० लाख, लक्ष्मी सनराइजले २ अर्ब ३७ करोड ४२ लाख, सानिमाले १ अर्ब ७४ करोड ६४ लाख, नेपाल एसबिआई १ अर्ब ६६ करोड ५१ लाख र माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड ४१ लाख नाफा कमाएका छन् ।