विद्यमान निक्षेप संरचनाले बैंकिङ क्षेत्रलाई कस्तो जोखिममा पार्न सक्छ ? « Arthapath.com
१० मंसिर २०८१, सोमबार

विद्यमान निक्षेप संरचनाले बैंकिङ क्षेत्रलाई कस्तो जोखिममा पार्न सक्छ ?



काठमाडौँ । नेपालमा २० मध्ये ७ वटा बाणिज्य बैंकहरु कुल स्वदेशी निक्षेपको ४० प्रतिशतभन्दा धेरै संस्थागत निक्षेप लिएर बसेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोज मसान्तमा यस्तो परिदृष्य देखिएको हो ।

हिमालयन बैंकले सर्वाधिक ४८.४५ प्रतिशत निक्षेप संंस्थागत स्रोतबाट लिएको छ । कुमारी बैंकले ४६.४२ प्रतिशत र नेपाल एसबीआई बैंकले ४६.३० प्रतिशत निक्षेप संस्थागत तर्फबाट लिएको केन्द्रिय बैंकको तथ्यांक छ ।

त्यस्तै, प्राइम कमर्शियल बैंकले ४५.३३, कृषि विकास बैंकले ४१.२१, एनआईसी एसिया बैंकले ४०.७८ र एनएमबी बैंकले ४०.५५ प्रतिशत निक्षेप संस्थागत निक्षेपकर्ताबाट लिएको छ ।

रकमका हिसाबले हेर्ने हो भने चाहीँ नबिल, ग्लोबल आईएमई, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, एनआईसी एसिया र राष्ट्रिय बाणिज्य बैंकले ज्यादातर संस्थागत निक्षेप लिएको देखिन्छ ।

स्ट्याण्डर्ड चार्टर्ड, माछापुच्छ्रे, नेपाल बैंक, सिटिजन्स र सानिमा बैंकले थोरैमात्र संस्थागत निक्षेप लिएका छन् । तर कुल निक्षेपको अनुपातसँग तुलना गरेर हेर्ने हो भने नेपाल बैंकले आफ्नो कुल निक्षेपको ८४.३० प्रतिशत व्यक्तिगत निक्षेपबाट समेटेको छ । माछापुच्छ्रेले ७४, सिटिजन्सले ७२, राष्ट्रिय बाणिज्यले लक्ष्मि सनराइजले ६९, सानिमाले ६८, ग्लोबल आईएमईले ६७ र स्ट्याण्डर्ड चार्टर्डले ६६ प्रतिशत निक्षेप व्यक्तिगत खातामा जम्मा भएको छ ।

यस्तो निक्षेपको मीश्रणले बैंकहरुको सञ्चालन जोखिमलाई प्रभाव पार्छ । संस्थागत निक्षेपमा बढी निर्भर भएका बैंकको ब्याज खर्च कम हुने भएकाले उनीहरुको आधार दर पनि कम हुन्छ । तर यस्ता बैंकको निक्षेप ज्यादा संवेदनशील हुन्छ ।

ठूलो परिमाणमा संस्थागत निक्षेप लिएका बैंकहरु कुनै कारणवश तरलता जोखिमको अवस्थामा पुगे भने हठात् टाट पल्टिने अवस्था पनि आउन सक्छ ।

नेपालमा निक्षेप अनुपातका सन्दर्भमा कुनै खास नियामकीय व्यवस्था छैन । नेपालमात्रै होइन, यस किसिमको निक्षेप संरचनालाई नियमन गर्ने अभ्यास संसारभर नै पाइँदैन । तर तरलता अनुपात, पूँजी पर्याप्तता अनुपात, केन्द्रिकृत जोखिम एवम् विवेकशील नियमनका प्रावधानहरु मार्फत् केन्द्रिय बैंकले निक्षेप संरचनालाई चुस्त राख्न उत्प्रेरित गरिरहेका हुन्छन् ।

यद्यपि, नेपालमा ज्यादा संस्थागत निक्षेप बोकेका बैंकहरुले बढी तरलता अनुपात कायम गर्नुपर्ने वा त्यस्तो कुनै विशिष्ट अभ्यास भने अहिलेसम्म देखिएको छैन । यस्तो बेला वित्तीय स्थायित्व धर्मरायो भने बढी संस्थागत निक्षेप बोकेका बैंकहरु चाँडो जोखिममा पर्नसक्ने संभावना रहन्छ ।

सामान्यतया निक्षेप संरचनालाई ६०ः४० को अनुपातमा राख्नु सञ्चालन प्रभाकारिता (अपरेशनल इफिसियन्सी)का निम्ति बढी उपयुक्त हुने ठानिन्छ । तर हाम्रोजस्तो विकासोन्मुख र आयातमा अधिक निर्भर अर्थतन्त्रमा ७०ः३० को अनुपातमा रहनु ज्यादा सुरक्षित हुनसक्ने विज्ञहरु बताउँछन् । यो भनेको व्यक्तिगत निक्षेप ७० प्रतिशत र संस्थागत निक्षेप ३० प्रतिशत भन्ने हो ।

राष्ट्र बैंकको आँकडा हेर्ने हो भने अहिले राष्ट्रिय बाणिज्य बैंक यस मानेमा सबैभन्दा राम्रो हालतमा देखिन्छ । लक्ष्मी सनराइज, सानिमा र ग्लोबल आईएमई पनि यही अनुपातको हाराहारीमा देखिएका छन् । हाम्रा बाणिज्य बैंकहरुको औसत निक्षेप संरचना हेर्ने हो भने चाहीँ व्यक्तिगत निक्षेप ६४ प्रतिशत र संस्थागत निक्षेप ३६ प्रतिशत रहेको देखिन्छ ।

यसरी हेर्दा स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ र एभरेस्ट बैंक पनि औसतभन्दा राम्रो हालतमा देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्