राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी बैङ्क बन्नुपर्छ : अर्थमन्त्री पौडेल « Arthapath.com
१५ मंसिर २०८१, शनिबार

राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी बैङ्क बन्नुपर्छ : अर्थमन्त्री पौडेल



काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कलाई देशकै एक नम्बर बैङ्क बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बीनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैङ्क बनाउनु पर्नेमा जोड दिए ।

उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बाणिज्य बैङ्कले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपन महसुश गर्नेगरी कार्य गर्न बैङ्क व्यवस्थापनलाई अनुरोध गरे ।

सेवा विस्तारमा सक्रियताका साथ लागेको बाणिज्य बैङ्कले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाईएको बैङ्क बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा वुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले ब्याजदरमा अहिले भईरहेको कमीलाई स्थीर बनाउन आवश्यक रहेको बताए । लिने समयमा एकल अंकको ब्याजदर भए पनि समयसँगै बढ्दै जाने विगतको अभ्यासले आफूहरुलाई सदैव झकझकाई रहेको उतले बताए ।

बैङ्कले सेवा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेका कारण आफूहरुमा आशाको सुरुवात गराएको भन्दै अर्यालले ब्याजदरमा उद्योगी व्यवसायीहरुलाई सुनिश्चितता भए ढुक्कसँग लगानी गर्न आफूहरु तयार रहेको तर्क गरे ।

यसैगरी कार्यक्रममा बुटवल उप–महानगर पालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरु पार गर्न राष्ट्रिय बाणिज्य बैँकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपार्इँले बैङ्कको सेवा प्रवाहमा सुधारको सुरुवात भईरहेको प्रति खुसी व्यक्त गरे ।

सरकार र निजी क्षेत्रबीचको खाडल न्यूनतम बनाउन वाणिज्य बैङ्कले काम गर्ने समय आएको उनको धारणा थियो । सेवाग्राहीले चाहेको जस्तो सेवा प्रवाह गर्न सके सेवाग्राहीको प्यारो बैङ्क बन्नेमा कसैको दुईमत नरहेको तर्क उनको छ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका अध्यक्ष दिलिपकुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए ।

सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफूहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैङ्कका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दावी उनले गरे ।

साथै, लघु उद्यम वा किसानसँग बाणिज्य बैङ्कजस्ता कार्यक्रमसँगै वित्तीय पहूँचको विस्तारका लागि शाखा विस्तारलाई तीव्रताका साथ अगाडि बढाइएको उनले बताए ।

सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको भन्दै उनले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्नेगरी आफूहरुले कार्यक्रमहरु अगाडि बढाएको जिकिर गरे ।

यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैङ्कले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए ।

उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग बाणिज्य बैङ्कको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए ।

प्रतिस्प्रर्धी बजारको माग अनुसार बैङ्कले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैङ्कले आफ्ना कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको उनको भनाइ थियो ।

साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले यस्तै साथ–सहयोग कायमै रहे निकट भविष्यमा बैङ्क उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्