बैंकहरूमा रिकभरीको समस्या छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समग्रमा अर्थतन्त्रका मूलभूत कुराहरू राम्रो रहेको बताएका छन् । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रको बाह्य सूचक सबल रहेको बताएका हुन् ।
‘अर्थतन्त्रका फण्डामेन्टल राम्रो हुँदै गैरहेको छ । बाह्य क्षेत्रमा सबल छौं । नेपाल राष्ट्र बैंकले राखेको लक्ष्यभित्रै मुद्रास्फीति छ’ उनले भने ।
बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको पनि उनले बताए । गभर्नर अधिकारीले बैंकको पुँजी राम्रो भए पनि अहिलेको अवस्थामा रिकभरीमा भने समस्या देखिएको उनको भनाइ छ ।
अर्थतन्त्रमा देखिएको सुस्तता र बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न उक्साउने अराजक गतिविधिले रिकभरीमा समस्या देखिएको उनले बताए ।
कार्यक्रममा गर्भनर अधिकारीले कृषि विकास बैंकको समग्र प्रदर्शनप्रति सन्तोष व्यक्त गर्दै शुभकामना समेत दिएका छन्। उनले बैंकले हालै देखाएको उत्कृष्ट व्यवस्थापकीय प्रदर्शनको प्रशंसा गरे। बैंकको वित्तीय सूचकहरू पनि उत्साहजनक रहेको उनले बताए । यस वर्ष पनि बैंकले १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेर उल्लेखनीय कार्य गरेको उनले सुनाए ।
गर्भनर अधिकारीले कृषि विकास बैंकलाई नेपालको कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने बैंकका रहेको भन्दै प्रशंसा गरे। उनले बैंकको समृद्धि र आर्थिक क्षेत्रमा यसको महत्वपूर्ण योगदानको सराहना गरे। गभर्नर अधिकारीले भने, “कृषि विकास बैंकले नेपालका ग्रामीण क्षेत्रका कृषक र व्यवसायीलाई वित्तीय सेवा प्रदान गर्दै, कृषिमा आधारित विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ। यो बैंकले नेपाली अर्थतन्त्रको आधारशिला सुदृढ गर्नमा अनमोल योगदान पुर्याएको छ।”
उनले कृषि क्षेत्रको समृद्धिको लागि बैंकले गरिरहेको प्रयासहरूको प्रशंसा गर्दै, आगामी वर्षहरूमा अझ प्रभावकारी र समावेशी बैंकिङ सेवा प्रदान गर्न बैंकको प्रतिबद्धता व्यक्त गरे। “हामीलाई विश्वास छ कि कृषि विकास बैंकका आगामी कदमहरूले राष्ट्रिय अर्थतन्त्रको समृद्धि र कृषकको जीवनस्तरमा सुधार ल्याउनेछन्,” गभर्नर अधिकारीले थपे।